धरान : मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मोरङ समाजमा विशेष योगदान दिएका व्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ ।

प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूको बारेमा ग्रन्थ प्रकाशित गरी उनीहरूको योगदानलाई जीवन्त राख्ने अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिए ।

बरालका अनुसार अहिले सम्म प्रतिष्ठानले तस्बिरमा मदन भण्डारी, मदन भण्डारी स्मृति ग्रन्थ भाग-१, मधुमल्लाका तिल बहादुर राई स्मृति ग्रन्थ 'मिक्लाजुङ्गको मोती', मोरङ बयरवनका काशीनाथ दाहाल स्मृति ग्रन्थ 'आदर्शको आकाश',मित्रलाल सुवेदी स्मृति ग्रन्थ 'स्वाभिमानको पहाड' प्रकाशित गरिसकेको छ ।

यसैगरी विकास अभियन्ता कृषि विज्ञ खगेन्द्र सिग्देलको आत्मवृत्तान्त आफ्नै प्रतिबिम्ब प्रकाशित गरिएको छ । तिल बहादुर राई स्मृति ग्रन्थ मिक्लाजुङ्गको मोती, काशीनाथ दाहाल स्मृति ग्रन्थ आदर्शको आकाश हालसालै विमोचन गरिएको छ । प्रतिष्ठानले मदन भण्डारी स्मृति ग्रन्थ भाग २,साबिकको सुन्दरपुर गाविसका पूर्व अध्यक्ष कृष्ण प्रसाद दाहाल स्मृति ग्रन्थ, लेटाङका डा. राम विनोद सिंह स्मृति ग्रन्थको अन्तिम तयारी गरिरहेको छ।

पुस्तकहरूको सम्पादन साहित्यकार अनिल पौडेलले गरिरहेका छन् । सङ्कलन संयोजन जयन्ता पोखरेलले गरिरहेकी छन् । जनता र आमूल परिवर्तनको पक्षमा गाउँ-गाउँवाट लड्ने निष्ठावान् कर्मठ योद्धाहरूको इतिहासलाई उत्खनन गरेर प्रकाशमा ल्याउने कार्य जारी राखेको अध्यक्ष बरालले जानकारी दिए।

समाजमा विशिष्ट योगदान दिएका व्यक्तिहरूको इतिहास बाहिर ल्याएर नयाँ पुस्तालाई शिक्षित गर्न जरुरी रहेको उनको भनाई छ । प्रतिष्ठानले सुरुमा व्यक्ति पहिचान गर्ने, खोज अनुसन्धान गर्ने र तथ्यहरूको आधारमा सत्यलाई प्रकाशमा ल्याउने कार्य जारी राख्ने अध्यक्ष बरालको भनाई छ।

मदन भण्डारी स्मृति प्रतिष्ठानले केन्द्रीय कार्यालय उर्लाबारी मङ्गलबारेमा मदन भण्डारी संग्राहलय सञ्चालनमा ल्याइसकेको छ । जननेता एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जीवन झल्कने सम्पूर्ण समाग्रीहरु संग्राहलयमा राखिएको छ।

madan-pustak