रेसमैको पच्छौरी अल्झेछ जङ्गली काँडैमा....

झुल्के घाम हेर्न कान्छी जाऊ अन्तु डाँडैमा ......

गायक रोशन गुरुङको यो गीतले भनेझैँ यति बेला पूर्वी पहाडी जिल्ला इलामको अन्तु डाँडामा सूर्योदय हेर्नेको ठुलो घुइँचो लाग्न थालेको छ ।

Antu-1

कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय अन्तुको सूर्योदय हेर्न पुग्ने मानिसहरूको ठुलो भिडले फेरि पनि पर्यटन व्यवसायीको व्यवसायमा सुधार ल्याउन थालेको छ ।

इलामको सुर्यदोय नगरपालिका-५ मा रहेको अन्तु भ्यु टावरमा बिहान ४ बजे देखिनै सूर्योदय हेर्नेको आजभोलि घुइँचो लाग्न थालेको छ । पहिले पहिले सूर्योदय हेर्नका लागि उत्तम ठाउँ अन्तु डाँडा हो भनेर चिनाउन र प्रचार प्रसार गर्न स्थानीयवासीले अन्तु महोत्सवको आयोजना गर्ने गर्दथे । तर आज भोलि भने त्यतिकै ठुलो सङ्ख्यामा मानिसहरू अन्तुडाँडामा सूर्योदय हेर्न पुग्ने गरेका छन् ।

पछिल्लो समय अन्तुमा झुल्के घाम हेर्नका लागि अघिल्लो दिन नै अन्तु पुगेर बास बस्ने र बिहानै झुल्के घाम हेर्नेहरूले अहिले अन्तुको करिब १ सय भन्दा बढी होमस्टे भरिने गरेको अन्तु निवासी सञ्चारकर्मी तथा साहित्यकार एकु घिमिरेले बताए । 

Antu-4

सूर्योदय हेर्ने समय कार्तिक र मङ्सिर हो । त्यसैले यो समयमा हजारौँ मानिस दैनिक जसो अन्तु पुग्ने गरेको घिमिरेको भनाई छ । भारतको दार्जिलिङको टाइगर हिलबाट भन्दा राम्रोसँग बङ्गलाको खाडीबाटै घाम झुल्केको देख्न सकिने अन्तुमा यति बेला सूर्योदय हेर्न आउनेहरूले फिक्कल र कन्याम सम्मका होटलहरु भरिभराउ हुने गरेका छन् । फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तु डाँडा सम्म पुग्न मेची राजमार्गबाट पुरै कालोपत्रे गरिएको छ । त्यसैले कन्याम र फिक्कलमा बास बस्नेहरू पनि बिहान सहजै अन्तु पुग्ने गरेका छन् ।

Antu-3

अन्तुडाँडाबाट झुल्के घामको अलावा भारतको मिरिक, टाइगर हिल, खरसाङ बजार, सिलगुढी, कञ्चनजङ्घा, फक्ताङलुङ (कुम्भकर्ण) र भारतको केही हिमश्रृंखलाहरुको मनोरम दृश्यहरू देख्न पाइन्छ । यति बेला अन्तु पूर्वको एउटा पर्यटकीय गन्तव्य बनेको छ ।

Antu-5

कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय फेरी चलायमान अन्तु डाँडाबाट देखिने सूर्योदयले बनाएको छ । विदाको  दिनमा १० हजार भन्दा बढी र अरू बेला करिब ५ हजारको हाराहारीमा सूर्योदय हेर्न मानिसहरू दैनिक जसो पुग्ने गरेका छन् ।

तस्बिर सौजन्य : सबिन लम्साल