धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन लागेको सुनसरी क्षेत्र नं. १ को सभापति पदका प्रत्याशी उम्मेदवारी दिन लागेका नेता सुजेन्द्र तामाङ समूहको प्यानलै उम्मेदवारी घोषणा गरेको छ ।

काँग्रेस नेता रामचन्द्र पौडेल र डा.शेखर कोइराला निकट यो समूहले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्षेत्र नं. १ सुनसरी, प्रदेशसभा क्षेत्र नं १ (१) र प्रदेशसभा क्षेत्र नं १ (२) को सभापति सहित प्यानलको उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा काँग्रेस धरानका सभापति श्याम पोख्रेलले उम्मेदवारहरूको नामावली घोषणा गरेका थिए भने प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी) ले फुल माला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङले उम्मेदवारी घोषणा गरेका छन् भने सचिवमा महेन्द्र प्रधान र केशव पुरीको उम्मेदवार घोषणा गरिएको छ । यसै गरी, सहसचिवमा भोजकुमार न्यौपाने र सुमित राईको उम्मेदवारी घोषणा गरिएको छ छ ।

यसै गरी कार्यसमिति सदस्यमा विजयी भएपछि सुमना श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने घोषणा गरिएको छ । काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन मङ्सिर ७ गते हुदैछ ।

यस्तै, प्रदेशसभा सुनसरी १(१) तर्फ सभापतिमा अनिल श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ भने उपसभापतिमा प्रदीप शाक्य र झुमा राई उम्मेदवार बनेका छन् । सचिवमा युवराज शङ्कर र राजेन्द्र राईले उम्मेदवारी घोषणा गरेका छन् भने सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरिएको छ ।

यसै गरी प्रदेशसभा, सुनसरी १ (२) को सभापतिमा मुरारी भट्टराईको उम्मेदवारी घोषणा गरिएको छ । उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल) र डिल्लीसेर राई उम्मेदवार रहेका छन् भने सचिवमा विजय घिमिरे र राजेन्द्र खड्का उम्मेदवार रहेका छन् । यस्तै, सहसचिवमा रोहित काफ्ले र मञ्जु राई उम्मेदवार बनेका छन् ।

यसै गरी, सोही कार्यक्रममा माधव घिसिङलाई नेपाली काँग्रेस जिल्ला सचिवको रूपमा पनि उम्मेदवार घोषणा गरिएको छ । घिसिङ आसन्न निर्वाचनमा काँग्रेस सुनसरीको सभापति उम्मेदवार केदार भण्डारी समूहबाट सचिवका उम्मेदवार रहने पनि घोषणा गरिएको थियो ।