इटहरी : नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले कार्यकर्तालाई गलाएर क्षेत्रीय समितिमा सहमति गराउने तयारी गरेका छन् । सहमति गराउने भन्दै गच्छदारले दबाब दिएपछि सोमबारको निर्वाचन कार्यतालीका प्रभावित भएको छ ।

लामो समयदेखि सहमतिको प्रयास गरेका उनले सोमबारको मनोनयन दर्ता रोकेर सहमतिको लागी दबाब र आग्रह दुवै गरेका छन् ।

सोमबार बिहान १० बजे तोकिएको मनोनयन दर्ता गर्न पुगेका नेता कार्यकर्ताहरू खाली हात फर्किएका छन् । मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँस गरेर निर्वाचन कार्यतालीका सारेको हो ।

पार्टी नेतृत्वबाट एक दिन निर्वाचन सार्न अनुरोध आएपछि कार्यतालीका सारेको निर्वाचन अधिकृत वेदनारायण यादवले बताए । विजय कुमार गच्छदारले पनि फोन गरेर भोलि सहमतिको लिस्ट लिएर आउने भनेपछि एक दिनलाई सारिएको उनको भनाई छ। आफूहरूले भोलिदेखि कार्यतालीका नसर्ने जानकारी गराएको उनले बताए ।

उता गच्छदारले भने घरैमा कार्यकर्तालाई बोलाएर सहमतिको लागी दबाब दिँदै आएका छन् । दुई साता देखी घरैमा कार्यकर्ताको भेला गर्दै आएका उनले सङ्घीय निर्वाचन क्षेत्रको पदाधिकारी र महाधिवेशन प्रतिनिधिको लागी एकमुष्ट सहमति गराउने तयारी गरेका छन् ।

आइतबार मात्रै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहमतिमा अधिवेशन सम्पन्न आग्रह गरेका थिए । देवानगंज गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्न पुगेका उनले सहमतिमै महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्ने बताए । साङ्केतिक रूपमा सुनसरीका नेताहरूलाई सहमतिको लागी प्रयास गर्न दबाब दिएका हुन् ।

यसअघि नै गच्छदारले सुनसरी ३ को प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए । सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्याउने उनको योजना छ । हाल क्षेत्रीय सभापतिमा इतर समूहका मेहेदी हुसेन बलिया दाबेदार हुन् । तर लामो समय झुलाएर उनले महाधिवेशन प्रतिनिधिमा बार्गेनिङ गरेका छन् । अन्तिम सम्म कार्यकर्ता र उमेद्धवारलाई गलाएर सहमति गराउने उनको तयारी देखिएको छ ।

उता सभापतिका दाबेदार हुसेनले भने आफ्नो नाममा सहमति नभए निर्वाचन हुने चेतावनी दिएका छन् । महाधिवेशन प्रतिनिधिमा योग्य उमेद्धवारलाई जिम्मेवारी दिएर आफूलाई सभापति बनाउनुपर्ने उनको भनाई छ ।

सुनसरीको ४ नम्बर क्षेत्रमा बाहेक अन्य क्षेत्रमा इतर समूह बलियो देखिएको छ । बाकी क्षेत्रमा सहमति गराउन नसकेपछि गच्छदारले आफ्नो क्षेत्रमा अधिकतम प्रयास गरिरहेका छन् । कार्यकर्ता सँग लामो कुरा गर्ने गरेका उनले सहमति नगराई नछाड्ने भएका छन् ।