उदयपुर : उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौँ पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स कटारीका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन।

कार्कीको कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ । नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१/०७२ देखि निरन्तर सबै भन्दा बढी कर तिर्न सफल भएको जनाएको छ।

सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेस गरेको आय विवरणमा कार्कीद्वारा सञ्चालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्सले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार ६ सय एक कर योग्य आय गर्न सफल भएको कर दाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन्।

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स छैटौँ पटक धेरै आयकर तिर्ने साबिक सगरमाथा अञ्चलकै उत्कृष्ट फर्म बन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक वर्ष ०७५।०७६मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो।

आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन आज एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस अघि करदाता सेवा कार्यालय उदयपुरबाट बढी कर तिर्नेमा दिप्सा हार्डवेयरका सञ्चालक नविन निरौला उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीमा करदाता सेवा कार्यालयमा कार्यरत नायव रेक मगर भइसकेका छन् ।

करदातालाई छूट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ट करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ।

२०५४ मङ्सिर १ गते मा मूल्य अभिवृद्धि कर लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७ मङ्सिर १ बाट मनाउँदै आएको हो ।