विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै छ ।

सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मन्त्री यादवको अध्यक्षतामा गठित मूल समारोह समितिले बिहीबार बिहान ७ बजे विराटनगर देवकोटा चौकबाट अभियानको सुरुवात गर्ने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए । उनका अनुसार बिहान ७ बजे देवकोटा चौकबाट सुरु हुने र्‍यालीले बजार परिक्रमा गरी पुन ः देवकोटा चौकमा आएर समापन हुने छ ।

अभियान अन्तर्गत मङ्सिर ९ गते साँझ ५ बजे ट्राफिक चौकमा दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको महाशाखा प्रमुख बरालले बताइन् । उनका अनुसार १६ दिन भरि नै जनचेतनामूलक विविध कार्यक्रम सञ्चालन हुने छ ।

साझा अभियानमा सरकारी निकायहरूका साथै मानव अधिकार सञ्जाल, अन्तर पार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासङ्घ, माइती नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।