इटहरी : नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशनको तयारी सुरु भएको छ। प्रदेश अधिवेशनमा उम्मेदवारले आ-आफ्नो प्रचार अगाडी बढाएका छन् । मङ्सिर १६ र १७ गते हुने प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा अगाडी बढेको छ । उम्मेदवारहरूले आ-आफ्नो दाबी पेस गर्न थालेका छन् ।

प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सभापतिमा उम्मेदवारी दिने भएका छन् । संस्थापन इतर समूहबाट कोइरालाले उम्मेदवारी दिने भएका हुन् ।

प्रदेश सरकारको सबैभन्दा ठुलो दलका नेता कोइराला मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । संस्थापन लाइनको नभएकै कारण मुख्यमन्त्री बन्न नपाएका उनी प्रदेश सभापति हुने तयारीमा लागेका हुन् । प्रदेश भरी राम्रो प्रभाव बढाएका उनले भेटघाट र सम्पर्कलाई अगाडी बढाएका छन् ।

दुई कार्यकाल सुनसरी जिल्ला सभापति भएका उनी भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले निर्वाचित भए। सुनसरीका ३ वटा प्रतिनिधिसभामा काँग्रेसलाई विजयी गराएका उनी शालीन र लोकप्रिय नेताको रूपमा चिनिन्छन् । भर्खरै सम्पन्न प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इतर समूहको बाहुल्यता भएका कारण उनी प्रदेश सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि इतर समूहबाटै उम्मेदवारी दिने चर्चा बढेका बेला कोइरालाले आफ्नो तयारी अगाडी बढाएका छन् । कोइराला हाल प्रदेश महाधिवेशन आयोजक समितिको प्रचारप्रसार विभाग प्रमुख हुन् । इतर समूहबाट उनी उम्मेदवार भए संस्थापन पक्षका अमृत अर्याल सँग प्रतिस्पर्धा हुने देखिएको छ।