इटहरी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. ३ मा लामो समय देखी सहमतिको नाममा रोकिएको अधिवेशन प्रक्रिया नाम मात्रको निर्वाचनमा पुगेर सम्पन्न भएको छ ।

विजय कुमार गच्छदारको निर्वाचन क्षेत्रको अधिवेशन उनकै स्वार्थ अनुसार चलेको छ । महिना दिन देखी घरैमा कार्यकर्ता बोलाएर सहमति गराउन आग्रह गरेका उनले सहमतिको लिस्ट बनाएर निर्वाचन गर्ने प्रक्रियामा सहभागिता जनाए ।

संस्थापन इतर पक्षका मेहेदी हुसेनलाई क्षेत्रीय सभापति बनाउन नमानेका उनले अन्तिममा सहमति जनाएका हुन् । महाधिवेशन प्रतिनिधिमा आफ्ना मान्छे जिताउनुपर्ने सर्त सहित गच्छदारले सहमति गरेको बताइएको छ । दुबैतर्फबाट सहमति गरेका उमेद्धवारको लिस्ट तयार पारेर बाकी उम्मेदवार सँग निर्वाचन भएको थियो ।

आफू पक्षीय कार्यकर्तालाई लिस्ट बाँडेर मतदान गर्न आग्रह गरेका दुवै पक्षका नेताहरूले स्वतन्त्र उम्मेदवार सँग चुनाव लडेका थिए । अन्ततः सहमतिकै लिस्ट अनुसारका नेतृत्व चयन भएका छन् । सभापतिमा हुसेन सहित सचिवमा रुपेश चौधरी र तिलेश्वर चौधरी निर्वाचित भए भने सहसचिवमा डिएन मेहेता र हिरा दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधिमा खुल्ला १० तर्फ अगमलाल चौधरी, कुमारजंग थापा, ज्योति कोइराला, वेदनारायण गच्छदार, भरत कुमार गौली, महेश प्रसाद बास्तोला, महेश दत्त, रघुनन्दन चौधरी, रोहित प्रसाद प्रसाईँ, रेसमलाल चौधरी निर्वाचित भएका छन् । उनीहरू सबै सहमतिको लिस्टमा समावेश भएका थिए ।

मधेसी खुल्लामा सपन कुमार दासको नाममा सहमति जुटेको छ । दलित खुल्ला तर्फ कृष्ण कुमारी विश्वकर्मा, थारु महिलामा सुनिता गच्छदार, मुस्लिम खुल्लामा गुलाबी मियाँ को नाममा सहमति भएको हो ।

महिला खुल्ला तर्फ गोमा पराजुली, दिलमाया डाँगी, विमला कुमारी श्रेष्ठ र सिता भुसाल छन् । खस आर्यमा शिव प्रसाद दंगाल, आदिवासी महिलामा पंक्षी वाइबा र मधेसी महिलामा सुनीदा दाहाल(शाह) को नाम लिस्टमा समावेश गरिएको थियो

७ गते हुने भनिएको अधिवेशन सहमतिको लागी भन्दै ८ गते सारिएको थियो । ८ गते कुनै सहमति नभएपछि ९ गते बिहान ९ बजे देखी निर्वाचन हुने निर्वाचन समितिले सूचना प्रकाशित गर्‍यो । ९ गते अनिश्चित कालका लागि स्थगित भएको निर्वाचन कार्यक्रम १० गते दिउँसो बाट सुरु भएको थियो ।