धरान : धरानको बराह बचत तथा ऋण सहकारीले आफ्नो १२ औंं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। २३ गते शुक्रवारको दिन धरान-८ स्थित बराह सपिङ कम्प्लेक्सको तेस्रो तलामा साधारण सभा सम्पन्न भएको सहकारीले जानकारी दिएको छ।

सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका सञ्चालक सदस्य शिव कुमार डाँगी विशेष अतिथि बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने अतिथिहरू पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य चन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैक धरानका प्रमुख सम्झना दाहाल लगायतको उपस्थितिमा खुल्ला तथा बन्द सत्र को कार्यक्रम सम्पन्न भएको हो ।

'हामी सबैको बराह आर्थिक उन्नतिको सहारा' नाराका साथ स्थापना भएको बराहले आर्थिक रूपमा पछाडि रहेका वर्ग र समुदायहरूलाई आर्थिक क्रियाकलापको मूल धारमा ल्याउने र उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यलाई आर्थिक रूपमा सफल र स्वरोजगार बनाउने उद्देश्य लिएको सहकारीले जानकारी दिएको छ । हाल सहकारीमा ५११७ जना शेयर सदस्य रहेको साधारण सभामा जानकारी दिइयो ।

संस्थाले आ.व. २०७७/०७८ मा शेयर रकम रु. १०,२९,१६,५०० पुर्‍याएको छ। जगेडा कोषमा ३,२८,८०,९८७।४३, निक्षेप सङ्कलन ७२,१९,८४,६४४।३४ ऋण लगानी ७९,३२,४४,८२९।८७ गरेको छ। यसै गरी संस्थाले आ.व. २०७७/०७८ मा खुद मुनाफा ३,६७,३२,३४३।८० बनाउन सफल भएको छ भने १२ औँ वार्षिक साधारण सभामा कार्यक्रममा संरक्षित पुँजी फिर्ता कोष र शेयर लाभांश कोष गरी जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

खुल्ला सत्रको कार्यक्रम सञ्चालन संस्थाको व्यवस्थापक दातेन्जी शेर्पाले गरेका थिए भने कार्यक्रम समापन सञ्चालक सदस्य गङ्गा बहादुर कालिकोटेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव कुमार डाँगीले हालको तरलता एवम् वित्तीय सङ्कट बराहको मात्र नभई देश र विश्वकै भएको र हाल वित्तीय सङ्कट विश्वमा तेस्रो महामारीको रूपमा देखा परेकोले सम्पूर्ण सहकारी कर्मी शेयर सदस्यहरू एकजुट र संयमित भई कार्य गर्ने पर्ने बताए । सहकारीको ऐन, नियम र सिद्धान्तमा रही कार्य सम्पादन गर्नु नै आजको आवश्यकता हो भन्दै उनले राष्ट्रिय सहकारी महासङ्घ नेपालको 'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने नारालाई वाचन गर्दै शुभकामना व्यक्त गरे । विशेष अतिथि र अतिथिहरूबाट सान्दर्भिक भनाई र शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी १२ औँ वार्षिक साधारण सभा कार्यक्रमको अवसरमा संस्थाले आफ्नो फिल्ड कर्मचारीहरूलाई विभिन्न शीर्षकहरूमा नगद तथा पुरस्कारद्वारा सम्मान गरेको छ । जसमा सर्वाधिक निक्षेप सङ्कलनकर्ता ३ जना सक्रिय अभियन्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जनालाई सम्मान गरेको थियो ।

baraha-12th-AGM