धरान : धरानको विजयपुरमा नेपाल टेलिकमले टावर राखेर मोबाइल सेवा प्रभावकारी बनाउने भनिए पनि समस्या जस्ताको तस्तै छ ।

विजयपुरमा नेपाल टेलिकमले सेवाग्राहीहरूमा मोबाइलको नेटवर्क राम्रो होस भनेर टावर ठडियो तर टावरकै नजिकै मोबाइल सेवा प्रभाकारी छैन । घर भित्र बसेर टेलिफोनमा कुराकानी गर्न नसकिने अवस्था पहिले टावर राख्नु अघि पनि थियो अहिले पनि उस्तै छ ।

निकै लामो समय पछि टावरमा जोड्नुपर्ने सामाग्रीहरू जोडियो । राति टावरको टुप्पोमा पनि रातो बत्ती मज्जाले बल्छ तर नजिकै नेटवर्क भने छैन । टावर राखिएको क्षेत्र डाडागाउँमा मोबाइल नेटवर्क राम्रो नहुनु भनेको टेलिकमले टावर ठड्याएर प्राविधिक प्ररिक्षण नगरी छाड्नुले भएको बताइन्छ ।

टावर नजिकै करिब १ सय मिटरको दुरीमा घर भएर पनि मोबाइलमा सहजै कुराकानी गर्न नसकिने समस्या पहिले भन्दा झन् बढी बढेको पिण्डेश्वर क्याम्पसका क्याम्पस प्रमुख काशीनाथ पौडेल बताउँछन् । मोबाइलमा टावर देखाउँछ तर फोन गर्दा नजाने र नलाग्ने अनि बोलेको राम्रो नसुनिने उनी बताउँछन् ।

टावरकै नजिकै बस्ने अर्का सागरमणि सुवेदी पनि टावरले खासै काम गरेको जस्तो आफूलाई नलागेको बताए । पहिले मोबाइल फोनमा जस्तो समस्या थियो अहिले पनि त्यस्तै भएको उनी बताउँछन् ।

यसै गरी टावर रहेको ठाउँदेखि केही नजिकै मण्डपचौकका सुवास न्यौपाने भने पहिले भन्दा केही सुधार भएको हो कि लागेको बताउँछन् । पहिले पहिले बोल्दा बोल्दै नेटवर्क जाने गर्दथ्यो तर अहिले त्यस्तो समस्या चाही नभएको बताउँदै उनी भन्छन्–टावर मात्रै ठडियो सेवा खासै प्रभावकारी भएन ।

विजयपुरको डाँडागाउमा रहेको टेलिकमको टावर सम्बन्धी बुझ्नका लागि नेपाल टेलिकम धरानका प्रमुख विनोद यादवसँग फोन गर्दा उनले समस्याको बारेमा जानकारी नै नदिई अर्का प्राविधिक प्रशान्त तिवारीको फोन नम्बर दिएर तर्किए । तिवारीलाई फोन गर्दा आफू विराटनगरमा रहेको र कुन क्षेत्रमा मोबाइल नटिपेको हो भनेर जानकारी मात्रै लिए ।

निकै लामो समय पछि विजयपुर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवालाई प्रभावकारी बनाउन भन्दै टेलिकमले टावर ठड्याए पनि नाम मात्रैको सेवा बनेको छ । यसबारेमा सम्बन्धित निकायको खासै चासो र ध्यान गएको पटक्कै देखिँदैन ।