धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउन्ड गोली सहित ४ जनाको समूहलाई पक्राउ गरेको छ।

सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही व्यक्तिहरू रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधवार साँझ र बिहीबार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका-७ घुस्कीका २० वर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका-६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउन्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो।

यसैगरी मियाकै बयानका आधारमा अन्य व्यक्तिहरू समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खुल्न आएसँगै तत्काल प्रहरी परिचालन भएकोमा थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो। सवरेज मिया सहित अन्य तिन जनालाई बिहीबार बिहान इनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउन्ड गोली, दुई थान म्यागेजिन र उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हातहतियार सहित पक्राउ परेका उनीहरूलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।