इटहरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् ।

भण्डारीको विजयी सँगै सुनसरी एमालेका बादशाह मानिएका भीम आचार्यको राजनीति सङ्कटमा परेको छ । कुनै समय आचार्य निकट मानिएका भण्डारी अहिले उनको राजनैतिक विश्रामको साक्षी भएका छन् ।

जिल्ला अधिवेशनमा उनी निकट मानिएका अध्यक्षका उम्मेदवार द्धवारीलाल चौधरीले लज्जास्पद हार बेहोरे । ओली निकट अर्का उम्मेदवार खेमराज पोखरेललाई पनि उनले समर्थन गरेका थिए । पोखरेल र चौधरीलाई मिलाउने प्रयास गरेका आचार्य असफल भए ।

चौधरी र पोखरेलको मत भन्दा बढी मतान्तरले भण्डारी विजयी भए । यसले आचार्यमाथि ठुलो धक्का पुर्‍यो । दोस्रो कार्यकाल सुनसरी अध्यक्ष भइसकेका अनुभवी भण्डारी तेस्रो कार्यकालको लागी विजयी भएका छन् । यसअघि आचार्य निकट भएका उनी अब उनका विरोधी खेमामा छन् ।

आचार्यको शक्ति आफूमा ल्याउन लागिपरेका भण्डारी सफल हुँदै गएका छन् । भण्डारीको विजयीले सुनसरीमा आचार्यको विकल्प दिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ बाट भण्डारीले टिकट नपाएपछि आचार्य सँग असन्तुष्ट भए । आचार्यकै कारण टिकट नपाएको बुझेका भण्डारी निक्कै रुष्ट देखिए । एमाले प्रदेश १ संसदीय दलको उम्मेदवार भएका आचार्यलाई पराजित गर्न भण्डारी लागिपरे ।

नभन्दै आचार्य पराजित भए । आचार्यलाई पराजित गर्ने भण्डारीको सफलता त्यहीबाट सुरुवात भयो । त्यसपछि गाउँपालिकामा टिकट विक्री गरेको भन्दै आचार्य विरुद्ध झनै आक्रामक भए उनी । आचार्यले एमालेलाई कमजोर बनाउन लागिपरेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिए ।

कुनै बेला एमाले भित्र माधव नेपाल समूहमा थिए दुवै नेता । पछि आचार्य सँगको असन्तुष्टि पछि भण्डारी केपी शर्मा ओली लाइनमा लागे । माओवादी र एमाले एकता भएर बनेको नेकपा भित्र ओली समूह कमजोर अवस्थामा थियो । माधव नेपाल समूह ओली विरुद्ध लागिरहँदा सुनसरीमा भण्डारी ओलीकै पक्षमा लागे ।

त्यसैले ओलीको विश्वास जिते । पछि एमाले र माओवादी फरक दल भएपछि एमाले भित्र नयाँ संरचना देखापर्यो । २०७५ जेठ २ अगाडीकै एमालेको संरचना हुनुपर्ने नेपाल समूहको रणनीति बन्यो । तर ओलीले भण्डारीलाई सुनसरी अध्यक्षको जिम्मेवारी दिए ।

पछि नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी खोले । तर आचार्यले प्रदेश १ को मुख्यमन्त्री बन्न पाउने भएपछि १० बुँदे सहमति गरेर एमालेमै रहे । नेपालको साथ छाडेर उनी एमाले बचाउन भन्दै ओलीको पक्षमा लागे ।

पछि २ महिना मात्र मुख्यमन्त्री भएर उनी बिदा भए । एमालेको १० औँ महाधिवेशनमा सचिवमा पनि पराजित भए । यसअघि सचिव भएका उनी अहिले पार्टी भित्र प्रदेश १ संसदीय दलको नेताको हैसियतमा छन् । प्रदेश १ इन्चार्ज भइसकेका उनले पार्टी भित्र हैसियत गुमाउँदै गएका छन् ।

आचार्यका विश्वासपात्रहरू धमाधम माधव नेपाल नेतृत्वको नेकपा एसमा लाग्न थालेपछि एमाले भित्र उनको प्रभुत्व कमजोर बनेको हो । सुनसरीमा उनका विश्वासपात्र धर्म निरौलाले नेकपा एस रोजे । इटहरीमा उनी निकट केशव कुमार विष्ट देखी चिरञ्जीवी भट्टराई सम्म नेकपा एसमा लागे ।

यसले उनको शक्ति झनै क्षीण भएको छ । अब उनीमाझ भण्डारीलाई रिझाउने वा नेकपा एस रोज्ने दुई विकल्प देखिएका छन् । भण्डारीलाई रिझाउँदा ठुलो दलको कमजोर अवस्था पुग्छन् उनी नेकपा एसमा लाग्दा सानो दलको ठुलो भूमिकामा पुग्ने देखिएको छ ।

भण्डारीको विजयी सँगै पुराना ओली पक्षीय नेताहरू पनि पाखा लागेका छन् । पूर्व माधव नेपाल समूहका र हाल ओलीको पक्षमा लागेका नेताहरूको बोलवाला चल्ने देखिएको छ ।