धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती विभागको आकस्मिक कक्षमा सोमबार भुईमा नै एक महिलाले बच्चा जन्मएकी छिन् । ब्यथाले असाध्यै च्यापेपछि उपचारमा प्रतिष्ठान आएकी सुनसरीको दुहबी नगरपालिका ५ की तुलसी साहले भुईमै बच्चा जन्माएकी हुन् ।
प्रत्यक्षदर्शी एक महिलाका अनुसार तुलसीले उभिएकै अवस्थामा बच्चा जन्माएकी थिइन् । ब्यथाले असाध्यै च्यापेको भन्दै उनका श्रीमान्ले छिटो भर्ना गरिदिन आग्रह गरिरहदा पनि स्टाफ नर्सहरुले ढिलाई गरिदिदा उक्त घटना भएको थियो । बच्चाको टाउको भुईमा ठोकिने गरी जन्मिदा पनि केहीबेरसम्म नर्सहरु कसैले पनि बच्चा उठाएका थिएनन् । अन्य महिलाहरुले आक्रोश पोख्दै कराउन थालेपछि मात्र झण्डै ५ मिनेट पछि नर्स आएर बच्चा टिपेका थिए । ‘म पनि बहिनी लिएर गएको थिएँ, उसको श्रीमान्ले छिटो गरिदिनु न गाह्रो भयो भन्दा पनि वास्तै गरेनन्,’नाम नखुलाउन आग्रह गर्दै ती महिलाले भनिन्,‘बच्चाको टाउको भुईमा ठोकिने गरी खस्यो, पेटमा जम्ल्याहा रहेछ । अर्को पनि खस्छ भनेर हामीले कराउन थालेपछि मात्र नर्स आएर बच्चा उठायो, अनि सुत्केरीलाई हतार हतार भित्र लग्यो ।’
तुलसाको पेटमा जम्ल्याहा बच्चा थियो । भुँइमा जुन्मिएको पहिलो बच्चा छोरा थियो । करिब एक घण्टा पछि अर्को छोरी लेबर रुममा नै जन्मिएको श्रीमान् रामजी रौनियारले जानकारी दिए । भुईमा जन्मदा टाउको बज्रिएको बच्चा सामान्य रहेको भनेर डाक्टरले बताएको उनले जानकारी दिए । ‘हामी पौने ९ बजेतिर आएका थियौं, साह्रो गाह्रो भएकोले छिटो भर्ना गरिदिनुस् न भन्दा लाइनमा उभिनु भिड छ भन्दै वास्तै गरेनन्,’उनले भने,‘ट्वाइलेट जान्छु भनेर लैजादै गर्दा बच्चा झरीहाल्यो । ५ मिनेटसम्म कोही आएन,यो सब देख्दा बडा दुःख लाग्यो ।’
बीपी प्रतिष्ठानको उपचार सेवा सहज नभएको गुनासो आम सेवाग्राहीहरुले गर्दै आएको छ । प्रसुती विभागमा क्षमताभन्दा बढी चापले अस्तब्यस्त छ । एउटै वेडमा ३ जनासम्म सुत्केरी राखेर उपचार गर्नुपर्दा समस्या भएको प्रतिष्ठान व्यवस्थापनले बताउने गरेको छ । केही बर्षअघि पनि महेन्द्रनगरकी एक महिलाले भर्ना नपाएपछि भुईमा नै बच्चा जन्माएकी थिइन् । उनको बच्चाको मृत्यु भएको कारण ठुलो हंगामा खडा भएको थियो । सरकारले छानबिन समिति नै गठन गरेको थियो । त्यसपछि प्रतिष्ठानले बेड विस्तार गरेपनि सुत्केरीको चाप अनुसार अझै बेड पुगेको छैन ।