यही जेठ २७ गते सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचन हुदैछ । चुनावको लागि अहिले उम्मेद्वारहरु मतदातासँग भोट माग्न ब्यस्त छन् । यो निर्वाचनमा धरानको कोसेली घर र होटल नवयुगकी सञ्चालिका शुभेच्छा अधिकारी श्रेष्ठ पनि वाणिज्यतर्फको महिला सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाँ व्यापार, व्यावसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ उद्योग वाणिज्य संघ, १ नं प्रदेश समितिको महिला उद्यम विकास समिति सदस्य, धरान उपमहानगर पालिकाअन्र्तगतको उद्योग प्रर्वद्धन समिति सदस्य, महिला सञ्जाल धरानको कार्यसमिति सदस्य र युवा दृष्टि समाजको कार्यकारी निर्देशक पनि हुनुहुन्छ । उहाँ हाल सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको कार्यसमिति सदस्य र महिला उद्यम विकास समितिको संयोजक पनि हुनुहुन्छ । आसन्न निर्वाचनको सन्दर्भमा उहाँसँग कपुरीन्यूजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: निर्वाचनको तयारी कस्तो भइरहेको छ ?

उत्तर: राम्रो भइरहेको छ । मतदाताहरुसँग भेटघाट भइरहेको छ । सबैले सकरात्मकरुपमा लिनुभएको छ ।

प्रश्नः संघमा तपाईले उम्मेद्वारी किन दिनु भएको ?

उत्तर: म संघमा कार्यसमिति सदस्यमा पनि छुँ । व्यपार, व्यवसायसँगै यो ३ बर्षको समयअवधिमा र सामाजिक काम गर्दाको सिकाईलाई अझ संगठित र संस्थागतरुपमा लैजानको लागि उम्मेदवारी दिएको हुँ । उद्योग, व्यापार, व्यावसाय क्षेत्रको समस्या एक्लैले समाधान गर्न नसकिने रहेछ, संस्थागतरुपमा पहल गर्दा तमाम उद्योगी, व्यवसायीहरुको समस्या हल गर्न पहल गर्नुपर्छ । त्यसैको लागि उम्मेदवारी दिएको हो ।

प्रश्नः तपाईको चुनावी एजेण्डाहरु के छन् ?

उत्तरः म महिला उद्यमी पनि भएकोले महिलाहरुलाई उद्यमशील र आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो प्रमुख एजेण्डा हो । त्यसको लागि धरानमा महिलाहरुलाई घरेलु, लघु उद्योगहरु स्थापना गरेर उत्पादनमा सहभागी हुन प्रेरित गर्नुपर्छ, र महिलाहरुको उत्पादनलाई बजारीकरण गर्नुपर्छ । महिला उद्यमीहरुको पहिचान गरेर प्रोत्साहन गर्नुपर्छ ।

त्यसबाहेक समग्र उद्योग, व्यवसाय, व्यापारको क्षेत्रलाई प्रर्वद्धन गर्न स्थानीय सरकार, प्रदेश सरकारसँग समन्वयकारी भुमिका खेल्नुपर्छ । निजी क्षेत्रलाई अघि बढाउन सकियो भने रोजगारी पनि सृर्जना हुन्छ । उत्पादन क्षेत्रलाई बिशेष प्राथमिकता दिनुपर्छ । यसको लागि स्थानीय सरकार, राज्यले नीति बनाउनुपर्छ । त्यस्तो नीति उद्यम, व्यापारमैत्री नीति हुनुपर्छ, र त्यसको लागि हामीले पहल गर्नुपर्छ । संघलाई सबै उद्योगी, व्यवसायी र व्यापारीहरुको आस्थाको केन्द्र बनाउनुपर्छ, त्यसको लागि हामी सबैको पहल आवश्यक छ ।

प्रश्न: महिलाहरु उद्यमशील र आत्मनिर्भर बनाउन के छन् त योजना ?

उत्तर: महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्छ । उहाँहरुले घर घरमा उत्पादन गरिहेकय छन्, त्यो बजरसम्म पुर्याउनुपर्छ । उहाँहरुको सीप, क्षमता अझ बढाउनुपर्छ । बैंकबाट ऋण उपलब्ध गराउन सहजीकरण गर्नुपर्छ । त्यो काम म गर्नेछु । अन्य व्यावसायिक फर्म, ठाउँको अवलोकन भ्रमण गराएर महिला उद्यमीहरुलाई उत्प्रेरणा दिलाउनुपर्छ ।

suvekxaa2

प्रश्न:तपाई त अर्गानिक कृर्षिको अभियन्ता मध्येको पनि एक जना हुनुहुन्छ, अर्गानिक उत्पादन प्रर्वद्धनमा के गरिरहनु भएको छ ?

उत्तर: कृषक अभियन्ता र हामी सामाजिक अभियन्ताहरु मिलेर हरेक शनिबार अर्गानिक शनिबारे हटियाको शुरुवात गर्यौं । कृषकहरु आफै आएर सामान ल्याएर बेच्न सक्नुहुन्छ वा अन्यलाई पनि पठाउन सक्नुहुन्छ । विचौलियाको बोलवाला कम छ । किसान र उपभोक्ताबीच सिधै लेनदेन हुन्छ । तर, उत्पादन बढाउन सकिरहेको छैनौं । केही वडामा उत्पादन बढाउन तालिम दियौं । कृषिमा सरकारी अनुदान दिइरहेको छ, तर वास्तविक किसानले पाइराखेका छैनन् । कृषकहरु प्रशासनिक झमेलाले गर्दा अनुदान पाउने अवस्थासम्म पुग्दैनन्, त्यो समस्या नि सहजीकरण गरेर समाधान गर्न प्रयासमा गरिरहेका छौं ।

अर्गानक उत्पादनमा मुल्यको पनि समस्या छ, तर उपभोक्ताहरु सचेत हुदै गएका छन् । अर्गानिक कृषि उत्पादनमा कृषकहरु आकर्षित छन् । हाम्रो टिमका सदस्य सविता जिले स्टोर पनि खोल्नुभएको छ । हामीले वृहतरुपमा नै यो अभियानलाई अघि लैजाने भनेर योजनामा छौं । अर्गानिक कृषि उत्पादन बढाउन सुनसरी उद्योग वाणिज्य संघ, निजी क्षेत्रले पनि राज्यलाई नीति बनाउन पहल गर्नुपर्छ ।

प्रश्न: उद्योगी, व्यवसायीहरुको चुनावमा पार्टीको हस्तक्षेप छ भन्ने देखियो ? तपाईलाई पनि राजनीतिक दबाब, प्रभाव पर्यो होला नि ?

उत्तर: यो पार्टीको चुनाव भन्दा पनि उद्योगी, व्यावसायी र व्यापारीहरुको साझा संस्थाको नेतृत्व चयनको कुरा हो । राजनीतिक आस्था नभएको व्यक्ति त कोही पनि हुदैनन् । तर, मलाई लाग्छ, मतदाता उद्योगी, व्यवसायीहरु सबै सचेत हुनुहुन्छ, र सही व्यक्तिलाई चुन्नुहुनेछ ।

प्रश्न: अत्यमा, मतदाताहरुलाई केही भन्नु छ ?

उत्तर: यसपाली पनि वाणिज्यतर्फको महिला सदस्य पदमा उम्मेदवारी दिएको छुँ । मैले इमान्दारीतापुर्वक संघमा रहेर, अन्य सामाजिक क्षेत्रमा पनि रहेर काम गरेको छुँ । यि सबै कुरालाई हेरेर पनि आदरणीय उद्योगी, व्यवसायी र व्यापारी मतदाता महानुभावहरुले मलाई मतदान गरिदिनुहुनेछ भन्ने आग्रह गर्छु, र प्रतिवद्धता पनि जनाउदछुँ कि म तपाईहरुले दिनुभएको मत खेर जान दिनेछैन । उद्योग, व्यापार र व्यावसायलाई माथि उकास्न, यो क्षेत्रको हितमा नै सदैव प्रतिवद्ध रहनेछु ।