काठमाडौं : आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे ।

सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।बुधबार काठमाडौं फर्केका संचारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका संचारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो रु रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो । राजनीतिशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक संजालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने । खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकि नयाँ पुस्ता प्रविधि, संचार र सामाजिक संजाल सम्पर्कले बदलिसकेका छन् । ‘धेरैजसो नेताहरु बदलिंदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक संजाल छिरेका त छन् तर त्यो पनि अरुको सहयोगमा । उनीहरुमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिंदैन,’ उनले भने ।

यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक संजाल र युट्युबमार्फत लामिछाने जर्बजस्त रुपमा उदाएका हुन । खनालका अनुसार सामाजिक संजालको बढ्दो प्रयोगकर्तालाई सम्बोधन गर्ने सीप, शैली र कौशल हाम्रो राजनीतिमा देखिन्न । कान्तिपुर दैनिकबाट