मोरङ: आइतवार राति ९ बजे ४ लाख रुपैँयासहित मनि ब्याग, पसलको खुद्रा खाता र हातको मोबाइलसमेत लुटिएको एक व्यापारीले बताएका छन् ।

मोरङको पथरी शनिश्चरे १ निवासी केशव खतिवडाले आफ्नो ४ लाख भएको ब्याग लुटिएको जानकारी दिएका हुन् । उनको पथरी बजारमा खतिवडा किराना सप्लायर्स सञ्चालनमा छ । उनका अनुसार सप्तरीको नारायणी चिउरा मुराइ उद्योगका सञ्चालक अभिशेषक काभ्राले आफ्नो घरबाट ४ लाख भएको ब्याग, खाता, मोवाइलसमेत लगेको खतिवडाको भनाई । आफुले उक्त उद्योगबाट सामान ल्याउने गरेको र सोही सामानको ३० हजार तिर्न बाँकी रहेकोमा १७ गते राति काभ्रा घरमा आएर आफुलाई लुटेको खतिवडाले आरोप लगाए ।

‘काभ्राले म काकडभिट्टामा छु घरमै आउछु भनेर फोन गर्यो, मैले पथरीको कृष्ण किरानामा ३० हजार रकम पनि छाडेको थिएँ । तर, ९ बजे राति आएर भि पस्नसाथ उसको मुन्सीलाई ये ब्याग, खाता सब गाडीमे डालो, ये चलोचलो भने मैले फोन गरेर कमफर्म गरिदिन्छु भन्दाभन्दै मेरो मोबाइल नै खोसेर लगे,’
उनले भने । खतिवडाका अनुसार उनले सोही समयमा प्रहरीलाई खबर गरेको र प्रहरी घटना स्थलमा पुगेर फोन गर्दा काभ्राले उल्टै तँलाई डिआइजीको फोन आउँछ भनेर थर्काएको थियो ।

घटनाको भोलीपल्ट(१८ गते) विहान इलाका प्रहरी कार्यालय पथरीबाट सम्पर्क गरेपछि दिउसो २ बजेको समयमा पथरी आएका काभ्राले आफ्नो गल्ती भएको र १९ गते विहान सम्ममा सबै सामान र पैसा फिर्ता गर्ने कुरा भएको थियो । तर २० गतेसम्म पनि काभ्राले आफ्नो सामान र पैसा फिर्ता नगरेको भन्दै खतिवडाले चोरी डकैतीको आरोपमा इलका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गरेको जानकारी दिएका छन् ।

यो घटनालाई मिलाउन भन्दै प्रदेश १ कय वन, वातावरण तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसियतले समेत प्रहरीलाई दबाब दिएको उनको आरोप छ । निवेदनदर्ता गर्न खोज्दा प्रहरी निरिक्षक रामबहादुर ढकालले मन्त्रीको फोन आएको र आफु पनि मन्त्रीसंग ३ वर्ष देखि चिनजानमा रहेकाले पैसा फिर्ता हुन्छ, ढुक्क हुनभनेको खतिवडाले बताए ।

उद्योगी काभ्राले आफुले व्याग लानु गल्ती गरेको तर ४ लाख रुपैँया भने नलगेको बताएका छन् । यही ४ लाख लगेको भनेर प्रमाण पु¥याएमा मात्रै सो रकम तिर्ने काभ्राको भनाइ छ । आफुलाई खतिवडाले फोन गरेर बोलाएको र घरमा जाँदा पैसा छैन, यही मोबाइल छ भनेर मोबाइल समेत दिएर पठाएको काभ्राले बताए । ‘मलाई व्याग, मोबाइल सबै उसैले दिएर पठाएको हो । मलाई व्यागदिँदा समेत म पैसा पठाइदिन्छु अनि मेरो व्यागफिर्ता गर्नु भनेर उसैले भनेको हो । मलाई फसाउनलाई यस्तो रचेको रहेछ,’काभ्राले भने । काभ्राका अनुसार खतिवडाले पटक पटक दिएको चेक समेत बाउन्स भएको छ । प्रहरीले भने अनुसार नै आफुले सबै सामान पथरी इलाकामा छाडेको उनले बताए ।