धरान: धरानका मेयर तारा सुब्बाको निधन भएकोले मंसिर १४ गते उपनिर्वाचन हुदैछ । स्वर्गीय मेयर तारा सुब्बा तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए ।

अहिले तत्कालिन एमाले र माओवादी एकता भएर नेकपा भएको छ । नेकपाले मेयर पदमा जिल्ला कमिटि सदस्य प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेर घरदैलो अभियानमा ब्यस्त छ । तर, यही घरदैलो अभियानमा ब्यस्त रहेको नेकपालाई स्वर्गीय मेयर सुब्बाको परिवारबाट नेकपाको लागि अप्रिय खबर आएको छ । आगामी निर्वाचनमा स्वर्गीय मेयर सुब्बाकी पत्नी इन्दु सुब्बा(राई)ले स्वतन्त्र उम्मेदवारी दिने खबरले अहिले धरानको चुनावी माहोल र सञ्चारमाध्यममा तरंग ल्याएको छ ।

स्वर्गीय मेयर पत्नी इन्दुले स्वतन्त्र उम्मेदवारी देलान् कि नदेलान्, त्यो भविष्यले बताउँला तर स्वर्गीय मेयर सुब्बाका दाजु ए.जि.(एन्ड्रयु) सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा उनले स्वतन्त्र उम्मेदवारी निर्णय भएको पोष्ट गरेका छन् । हाल हंगकंगमा रहेकी इन्दु शनिबार नेपाल(काठमाण्डौ) आइपुग्नेछिन् भने आइतबार धरान आइपुग्नेछन् ।

उनको जेठाजु तथा स्वर्गीय मेयर सुब्बाका दाई ए.जि.का अनुसार उम्मेदवारको ३ जना नाम सिफारिश हुदा आफ्नो पनि नाम सिफारिश होस् भन्ने चाहना बुहारीको थियो । सोही अनुसार पार्टीमा कार्तिक १५ गते आफुले निवेदन दिए पनि सुनुवाई नभएको उनको भनाई छ । 'नाम मात्र सिफारिश भए पनि हुने भन्ने थियो, बुहारीको त्यसैमा चित्त दुःखाई छ, र उम्मेदवारी दिने कुरा सतप्रतिशत हो,'उनले भने ।

स्वर्गीय मेयर सुब्बाको परिवारको यो कुराले नेकपालाई झस्काएको छ भने प्रतिस्पर्धी दलहरुलाई पनि नेकपाविरुद्ध प्रचार गर्ने मौका मिलेको छ । अन्यत्र नेताको मृत्यु हुदा श्रीमतिलाई उम्मेदवार उठाउने नेकपाले धरानमा चै किन तारा सुब्बाकी श्रीमतिलाई उम्मेदवार नउठाएको भन्ने प्रश्न गर्दै सामाजिक सञ्जालमा आलोचना, आक्रोश पोख्ने काम भइरहेको छ ।

letter1