झापा: लामो प्रतिक्षापछि झापाका गौरादह ५ का बासिन्दाले कालोपत्रेसहितको सडक पाउने भएका छन् । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले सडकको शिलान्यास गरेपछि यो प्रतिक्षाको घडी सकिएको हो ।

गौरादह ५ स्कुल चौनकी सुमित्रा काफ्लेले भनिन्,‘अब हाम्रो गाउँमा पनि कालेपत्रे सहितको सडक आउने भयो ।’ कालोपत्रे गरिएको सडक हेर्न गौरादह बजार वा दमक पुग्नु नपर्ने भन्दै वर्षौपछि यो सपना अब चाहि पुरा हुने उनले अपेक्षा गरेकी छिन् ।

गौरादहस्थित डिपु चोकबाट पश्चिम तर्फ स्कुल चौन गेउरिया सडकको शिलान्यास सम्पन्न भएपछि काफ्ले जस्तै यस क्षेत्रका नागरिकको सडक बन्ने छ भन्नेमा आशा पलाएको छ । अघिल्लो पटक पनि गौरादह स्कुलचौन सडक कालोपत्रेका लागी योजना बनाइएको केही ठाउँमा काम गरे जस्तो गरे पनि बिचमा छोडेको र बनाएको केही महिनामै भत्किएपछि स्कुलचौन गौरादह गर्नै गाह्रो भएको अर्का स्थानीयबासी यज्ञ तिमिल्सिनाको भनाई छ । उनले भने,'अब त हाम्रै ठाउँका मन्त्रीज्यूले बाटो बनाउँछु भनेर शिलान्यास गर्नु भएको छ, कसो नबन्ला ?'

बाटो बन्छ भन्नेमा विश्वस्त देखिएका तिमिल्सिनालाई प्रदेश नं १ का मन्त्री कार्कीले पनि आश्वास्त पारिदिएका छन् । शिलान्यास पछि बोल्दै उनले भने,'बजेटको अभावमा बाटो नबन्ने भन्ने कुरा अब कल्पना भन्दा बाहिरको कुरा हो । हामीले यो सडक निर्माण सम्पन्न गराउनका लागि बजेटको सुनिश्चितता गरिसेका छौ ।’ मन्त्री कार्कीले बाटो बन्दैन कि भन्ने कुरामा कुनै कोणबाट पनि शंका नगर्न समेत आम गौरादहबासीलाई आग्रह गरेका छन् ।

यो सडकले गौरादह स्कुलचौनका लागि मात्र नभएर झापा, मोरङ र सुनसरी जोड्ने एउटा छोटो बाटोको रुपमा समेत विकास गराउने मन्त्री कार्कीले बताए । उनले भने,'यो सडक स्कुलचोनबाट बालुबथान हुँदै डिम्बाउठा मावा पुल र मोरङको रङ्गेली हुँदै सुनसरीको दुहवीबाट इनरुवा निस्केर कोशीसम्म पुर्याउने लक्ष्य रहेको छ । हामी यो कामलाई समयमै पूर्णता दिनेछौ ।' कुल ८ दशमलब ६५३ किलामिटर लामो सडकको काठमाडौस्थित धुकुछु बिटी जेभीले निर्माणको जिम्मा पाएको छ ।

कुल १५ करोड ५२ लाख ९२ हजार ९ सय ५० रुपैँयाको लागतमा बन्न लागेको यो सडक २०७८ साल कार्तिक २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ । यद्यपी निर्माण कम्पनीका प्रतिनिधि बुद्धिमान लिम्वुले समय अगावै सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका छन् । समयमा काम नसक्दा निर्माण कम्पनीको समेत बदानाम हुने डर भएकोले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्ने लिम्वुले बताए ।

पूर्वाधार विकास कार्यालय झापाले यो योजनाको कार्यान्वयन गर्ने छ भने बजेट प्रदेश नं १ सरकारले सुनिश्चित गरेको जनाइएको छ । गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले गौरादह नगरको बजेटले निर्माण गर्न नसक्ने सडक तथा पूर्वाधारका योजनामा प्रदेश र संघिय सरकारसँग सहकार्य गरेर भएपनि आम नागरिकको कालोपत्रेमा हिड्ने सपना पुरा गराउने बताईन । 'अझै पनि यहि नगरपालिकाका धेरै वडामा कालोपत्रे मात्र हैन सहज रुपमा सडक सञ्जाल समेत जोड्न सकिरहेका छैनौ । नगरको बजेटको आकार सानो भएकोले सडक तथा पूर्वाधार विकासमा संघीय र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था रहेको छ,'-उपप्रमुख भेट्वालले भनिन् ।

जसरी भएपनि गौरादहबासीलाई सहज सडक सञ्जालमा जोड्ने उनको प्रतिवद्धता थियो । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठ, संविधानसभा सदस्य दिपक कार्की, गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह लगायत जनप्रतिनिधी तथा आम नागरिकको सहभागिता रहेको थियो ।