पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले किशोरीहरुमा रगतको कमिबाट उत्पन्न हुने समस्या रोक्न निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण थालेको छ ।

नगरको स्वास्थ्य शाखाले आज वडा नम्वर १ स्थित पञ्चायत माविमा आयोजित एक कार्यक्रममाझ आइरन र फोलिक एसिड वितरण अभियान थालेको हो । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद शाहले १० वर्षदेखि १९ वर्ष उमेरसम्ममा विद्यालयका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरे ।

नगरका लागि सरकारले प्रदान गरेको सशर्त कार्यक्रम अन्तर्गत प्रत्येक हप्ताको एक एकवटा गरी १३ हप्तासम्म लगातार खाने र त्यसको १३ हप्ता छोडेर पुनः त्यसपछिको १३ हप्ता खानुपर्ने तालिका वनाएको छ । विद्यालयहरुमा विषयगत शिक्षकबाट र विद्यालय नगएको अवस्थाकालाई महिला स्वास्थ्य स्वयमसेविकाबाट घरमै गएर आइरन र फोलिक एसिड वितरणको कार्यक्रम रहेको छ । नगरमा ८ हजारको हाराहारीमा १० देखि १९ वर्षका किशोरीको संख्या रहेको छ ।