धरान: हिजो आइतबार राती धरान १७ स्थित फोकल्याण्डवस्तीमा छुरा प्रहार हुँदा तीन जना युवा घाइते भएका छन् ।

प्रहरीका अनुसार राती करिब ७ बजेर २५ मिनेट जाँदा घटना भएको हो । धरान १७ प्रगतिमार्गका १९ बर्षीय अरबिन राईले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट फोकल्याण्डका १९ बर्षीय जनम माझी, बिशाल राई र अभिषेक बराईली घाइते भएका थिए । घाइते तीनै जनालाई तत्काल वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको लागी पुर्याइएको थियो । ती मध्ये बिशाल र अभिषेक उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका छन् भने जनमको उपचार भैरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार छुरा प्रहारमा संलग्न अरबिनलाई घटनालगत्तै सोही रात पक्राउ गरिएको थियो । छुरासहित पक्राउ परेका उनलाई आज सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप भएको छ भने उपचाररत घाईते जनमको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि प्रहरीले जनाएको छ ।