काठमाडौं : नेपाली कांग्रेसनिकटको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आउँदो चैतमा हुने भएको छ ।

युनियनको मंगलबार चितवनमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन चैत २१ र २२ गते नेपालगन्जमा गर्ने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले बताए । अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा केन्द्रीय महाधिवेशन परिचालन समिति गठन गरिएको जानकारी उनले दिए ।

त्यस्तै, उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय तयारी समिति बनाउने निर्णयसमेत गरिएको छ । महाधिवेशनका लागि बाँकी रहेका १५ शाखाको अधिवेशन र उद्घाटन भएर स्थगित भएका चारओटा शाखाको अधिवेशन यही माघ मसान्तभित्र गरिसक्नेसमेत निर्णय गरिएको छ ।

सो अवधिभित्र महाधिवेशन नगर्ने र शुल्क नबुझाउनेलाई महाधिवेशनमा सहभागिता जनाउन नदिने निर्णय गरिएको जनाइएको छ । हरेक तीन वर्षमा हुनुपर्ने युनियनको महाधिवेशन यसपटक भने करिब ६ वर्षपछि हुन लागेको हो । २०७१ साल भदौमा पोखरामा सम्पन्न आठौं महाधिवेशनले बद्री सिग्देलको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति निर्वा्चित गरेको थियो ।