झापा : माध्यमिक शिक्षा (११-१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका-२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।

विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताए । गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताए ।

यसअघि हल्दिबारी गाउँपालिकाले माध्यमिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने गरेको छ । उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले एक/एक थान ल्यापटपको समेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

उता झापा गाउँपालिकाले कक्षा आठदेखि माथि अध्ययन गर्ने सबै छात्रालाई एक/एक थान साइकल प्रदान गरेको छ भने उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको मासिक शुल्क आफैँ प्रदान गर्दै आएको छ ।