काठमाडौं : अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ ।

एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन् ।

कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए- ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन ।’ सत्तारुढ दल नेकपाभित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठेका बेला अमेरिकाको यस्तो चेतावनी आएको हो ।

एमसीसी कम्प्याक्टबारे परामर्शका लागि आएका ब्रुक्सले सबै पक्षसँगको छलफलका क्रममा उक्त धारणा राखेको सहभागी एक अधिकारीले बताए ।

ब्रुक्सले प्रधानमन्त्री केपी ओली, एमसीसीबारे अध्ययन गर्न बनेको सत्तारुढ दलको कार्यदल संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वगृह/रक्षामन्त्री भीम रावल, अन्य नेता तथा सरकारी अधिकारीसँग भेट गरेका थिए । उनी मंगलबार स्वदेश फर्किएका छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट