इटहरी : मन्दिरमा चढाइएका भेटीको दुरुपयोग भएको भन्दै प्रदेश सभामा व्यवस्थापन गर्न माग उठेको छ । प्रदेश एक भित्र रहेका ठुला मठमन्दिरको भेटी पुजारीहरूले नै प्रयोग गर्दै आएकोमा व्यवस्थापन गर्नु पर्ने माग उठेको हो ।

मङ्गलवारको प्रदेश सभाको शून्य समयमा बोल्दै नेकपा सांसद उमिता बराइलीले भेटी व्यवस्थापन गर्न सरकार समक्ष माग गरेकी हुन् । प्रदेश नम्बर एकका महत्वपुर्ण तिर्थस्थलहरु बराहक्षेत्र, पाथीभरा, हलेसी, पिण्डेश्वर बाबाधाम लगायतमा बढी भक्तजनहरु आउने गर्दछन् ।

shivaratri-pindeswor01

'पिण्डेश्वर मन्दिरमा मात्र बार्षिक ६ लाख भक्तजन आउँछन्, प्रत्येकले एक रुपैयाँ चढाउँदा पनि छ लाख रुपैयाँ उठ्ने गर्दछ' उनले भनिन् । प्रदेशका ठुला मन्दिरहरूमा चढाइने भेटी सोही ठाँउको विकासमा लगाउनु पर्ने माग बराइलीले गरिन ।

सङ्घीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भेटी व्यवस्थापन निर्देशिका जारी गरे पनि कार्यान्वयन पूर्ण रूपले हुन सकेको छैन । निर्देशिकामा पुजारीले देव स्थानमा चढाएका भेटी आफूखुसी लौजान नपाउने व्यवस्था समेत छ।

'भगवानको नाममा चढाइएका भेटीहरूको पुजारीले बोरामा हालेर घर लागिरहेका छन्' सांसद बराइलीले भनिन 'प्रदेश सरकारले नियमन गरेर भगवानलाइ चढाएको रकम भगवान् कै नाममा खर्च हुने वातावरण बनोस् ।'

dantakali