धरान : कोरोना संक्रमित युवतीसंगै एउटै प्लेनमा नेपाल आएका धरानका दुइ जना बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्कमा पुगेका छन् ।

चैत्र ४ गते कतार एयरवेजबाट कोरोना संक्रमित युवतीसंगै नेपाल आईपुगेका धरान १६ र धरान ६ का दुईजना सरकारी क्वारेनटाईनमा पनि नबसी धरान आईपुगेका कारण उनीहरुमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै धरान उपमहानगरपालिका, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रहरीको संयुक्त प्रयासमा प्रतिष्ठान आईपुगेको बताईएको छ ।

उनीहरु दुवैलाई धरान उपमहानगरपालिकाले तयारी अवस्थामा राखेको एम्वुलेन्सबाट प्रतिष्ठान पुगेका हुन् । दुबै जनाको थ्रोट स्वाब लिएर कोरोना परिक्षणकालागि टेकु अस्पताल पठाईने र हेल्थ स्क्रीनिङ गरी आईसोलेसनमा राख्नुपर्ने अवस्था आए प्रतिष्ठानको आईसोलेसनमा राख्ने र नभए दुवैलाई नेपाली सेनाले तयार गरेको मोरङको टाँडी स्थित क्वारेनटाईनमा पठाउने प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले बताए ।

यसैगरी सिराहाको लाहानबाट प्रतिष्ठानमा कोरोना परिक्षणका लागि ल्याईएका एक जनालाई प्रहरीको स्कटिङ गरी मोरङको टाँडी स्थित क्वारेनटाईनमा पठाईएको प्रहरीले जनाएको छ । उनी भारतको वेङ्लोरबाट आएका हुन् ।

सरकारले राख्ने १४ दिनको क्वारेनटाईनमा नबसी विदेशबाट नेपाल आएको जो काहीले पनि आफ्नो परिवार र समाजका लागि स्वास्थ्य परिक्षण गरी क्वारेन्टाईनमा बस्न चिकित्सकले आव्हान गरेका छन् । यसो गरियो भने मात्रै परिवार र समाज कोरोना जस्तो डरलाग्दो माहामारीबाट मुक्त हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।