विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न पूर्ण तयारी गरेको बताएका छन् ।

शुक्रवार देखी सञ्चालनमा आएको (कोभिड -१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको बताएका हुन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट प्रदेशवासीलाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए । प्रदेश सरकारले विज्ञ चिकित्सकहरूको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका सामग्रीको र त्यसको आपूर्तिका लागि अध्ययन गरिरहेको बताएका छन् ।

Corona Hospital

यस्तै क्वारेन्टाइनमा रहेकाहरूको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको पनि मुख्यमन्त्री राईले जानकारी दिए ।
अहिलेसम्म प्रदेश एकमा कसैलाई यसको सङ्क्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै यसबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन सबै नागरिकलाई अपिल समेत गरे ।

प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोसी अस्पताल अन्तर्गत रहने कोरोना विशेष अस्पतालका रूपमा विकास गरेको हो । १० बेडको भेन्टिलेटर सहित ५० बेडको अस्पतालमा बिरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोसी अस्पतालकी प्रमुख डा. सङ्गीता मिश्रले बताइन् ।

प्रदेश सरकार मन्त्री परिषद्को चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो ।