मोरङ — पण्डित अचार्य श्रीनिवासलाई बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई झुम्का कारागार पठाइएको हो ।आफैंलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।जिल्ला न्यायधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो।
आचार्यको पक्षमा जिल्ला प्रशासनमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए भने चौधरी र अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ताद्वय मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए। सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेको थिए।
विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पूराण बाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए।
उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए। काठमाडौंबाट थप उपचारका लागि भारतको लिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेका थियो।
बाराको सिमरा–३ घर भई सुनसरीको चकरघट्टी लक्ष्मी बैङकटेशको आश्रममा बस्ने आचार्य २०७१ सालदेखि हिन्दुराज्य स्थापनाका लागि सक्रिय छन्।