बिर्तामोड, साउन २४ । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमुना नै बनेको छ ।
बिर्तामोड-२ मा १६ बिघा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैयाँको निजी लगानीमा २०७३ वैशाखदेखि माछापालन सुरु गरेका हुन् । उत्पादन हुन थालेको दुई वर्ष नबित्दै पार्कका माछाले झापा जिल्लामा उत्पादन हुने कुल माछाको करिब एक चौथाई हिस्सा ओगट्न सफल भएको छ । शिवाकोटीका अनुसार पार्कले आर्थिक वर्ष २०७४/०७५ मा २५० मेट्रिक टन माछा उत्पादन गरेर बजारमा बिक्री गर्न सक्यो ।

पार्कमा भियतनामी प्रजातिको पंघाससहित रहु, नैनी, कमन कार्प, बिग हेड, ग्रास कार्प, रुपचन लगायतका माछा उत्पादन हुँदै आएको छ । स्वाद र औषधीय गुणका कारण पंघास सबैभन्दा लोकप्रिय छ । गौरादह कृषि शाखा कार्यालयका मत्स्य प्रविधिज्ञ प्रदिप श्रेष्ठका अनुसार झापा जिल्लामा वार्षिक एक हजार ५० मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । तर, झापामा माछाको खपत वार्षिक रुपमा दुई हजार मेट्रिक टन हुने गरेको छ र अपुग माछा भारतबाट आयात हुने गर्छ ।
पार्कमा उत्पादन हुने माछाहरु बिक्रीका लागि सञ्चालकहरुले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको गाउँगाउँसम्म यातायातका साधनमार्फत र्पुयाउने गरेका छन् ।
गाउँ र सहरका टोल टोलमा कम्पनीकै गाडीले जिउँदै ल्याइदिने माछा किन्न उपभोक्ताहरुको घुइँचो लाग्ने गर्छ । बजारमा मरेका माछा किन्नु पर्ने बाध्यताबाट मुक्ति पाएका उपभोक्ताहरु दिनहुँ जिउँदो माछा बोकेर आउने पार्कको गाडी कुरेर बसिरहेका भेटिन्छन् ।
कम्पनीका ७ वटा गाडी माछा बोकेर गाउँमा दिनभरि डुल्ने व्यवस्था मिलाइएको छ । पार्कका व्यवस्थापक कृष्ण प्रसाईंका अनुसार झापा जिल्लाबाहिर मोरङको उर्लाबारी, बेलबारी, लेटाङ र सुनसरीको इटहरी र धरानसम्म पार्कका गाडी माछा बोकेर गुड्छन् । पार्कको आफै गाडी र कर्मचारीबाट दैनिक आठ सयदेखि एक हजार किलोग्रामसम्म माछा बिक्री हुँदै आएको छ ।
पर्यटकीय केन्द्र बन्दै पार्क
माछापालनका लागि बनाइएका ठूला जलाशय र त्यसको वरिपरि सजाइएका बगैँचाका कारण हेभन वाटर पार्क झापाको रमणीय पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।
पोखरीमा नौका विहार गर्न, बगैँचामा सेल्फी खिच्न र माछा हेर्न टाढाटाढादेखि दिनहुँ सयौँ व्यक्ति आउने गरेका छन् । यहाँका ११ पोखरीमध्ये ठूला दुईमा चारवटा डुङ्गा राखिएका छन् ।
पोखरीको पूर्वी ढोकानजिक माछाको ठूलो चित्राकृतिसमेत राखेर रमणीय बगैँचा निर्माण गरिएको छ । पार्कमा जलाहारीले माछा निकालेको र भण्डारण गरिएको प्रत्यक्ष अवलोकन गर्न दिइने व्यवस्था मिलाइएका कारण माछा मारेको रमाइलो दृश्य हेर्न समेत आगन्तुकहरु झुम्मिने गरेको व्यवस्थापक प्रसाईं बताउँछन् । आन्तरिक पर्यटक बढेपछि पोखरीको एक छेउमा माछाको मात्र परिकार पाइने ‘हेभन रेस्टुरेन्ट एन्ड बार’ सञ्चालनमा ल्याइएको छ ।
पार्कले नै सञ्चालनमा ल्याएको यस रेस्टुराँमा पोखरीबाट निकालिएको ताजा माछा उपभोक्ताले रोजी रोजी खान पाउने व्यवस्था मिलाइएको पार्ककी निर्देशक विद्या शिवाकोटी बताउँछिन् । उनका अनुसार रेस्टुराँमा माछाका ५३ परिकार उपलब्ध छ ।
पर्यटकलाई थप मनोरञ्जन दिन पोखरीको दक्षिणी किनारमा ५ करोड रुपैयाँको निजी लगानीमा व्यवस्थित बाल उद्यान निर्माण थालिसकेको नगर प्रमुख शिवाकोटीले जानकारी दिए ।
आयात प्रतिस्थापनमा योगदान
आर्थिक वर्ष २०७१/०७२ सम्म भारतीय बजारबाट आयातित माछामा अत्यधिक निर्भर झापा जिल्ला त्यसपछि क्रमश: आत्मनिर्भरताको मार्गमा अघि बढिरहेको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार मेची भन्सार नाका भएर आर्थिक वर्ष २०७१/०७२ मा दुई हजार १०९ मेटिर््रक टन माछा भित्रियो । तर, २०७४/०७५ मा यो आयात स्वाट्टै घटेर एक हजार ५७८ मेट्रिक टनमा झरेको छ । २०७२/०७३ देखि प्रतिवर्ष १०० मेट्रिक टनका दरले माछा आयात घट्दै गएको देखिएको छ ।
हेभन वाटर पार्कबाट उत्पादित माछाले झापा जिल्लाको कुल खपतको १२.५ प्रतिशत हिस्सा धानेको छ । भारतको आन्ध्र प्रदेशलगायतको स्थानबाट हप्तौँको अवधिमा आइपुग्ने मरेका माछामा मानव स्वास्थ्यका लागि हानिकारक फर्मालिन रसायनको प्रयोग भएको पाइने गरेकाले सचेत बन्दै गएका उपभोक्ताहरुले स्थानीय पोखरीमा उत्पादित जिउँदो माछा नै किनेर खाने गरेका छन् ।
घरघरै जिउँदो माछा बिक्री गरेर पार्कले आमजनतामा स्वस्थ माछा खान चेतना फैलाएको मत्स्य प्रविधिज्ञ श्रेष्ठ बताउँछन् ।
हेभन वाटर पार्कको स्थापना आगामी ५ वर्षभित्र झापालाई माछामा आत्मनिर्भर बनाउने एक अभियान भएको नगर प्रमुख शिवाकोटी दाबी गर्छन् । ‘यसै वर्षदेखि बिर्तामोड नगर क्षेत्रबाट भारतीय मरेका माछा विस्थापित भइसक्यो’, शिवाकोटी भन्छन्, ‘पूरै जिल्लालाई आत्मनिर्भर बनाउन पुग्ने गरी माछाका भुरा उत्पादनमा हामीले ध्यान केन्द्रित गरिरहेका छौँ ।’
हाल यस पार्कको ह्याचरीमा तीन लाख ५० हजार पंघास माछाका भुरा हुर्किसकेका छन् भने ५० लाख अन्य जातका माछाका भुरा उत्पादन भइरहेको छ । पार्कले भारतबाट आयातित मरेका माछा बेच्ने गरेका बजारका हण्डीवाला व्यापारीलाई भने आफो उत्पादन बिक्रीका लागि दिने गरेको छैन । उनीहरुले भारतबाट ल्याइएका कुहेका माछासँग मिसाएर बेचिदिए स्थानीय उत्पादन समेत बदनाम हुनसक्ने भएकाले यसो गरिएको उनी बताउँछन् ।
पार्कले लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गामा आफै बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । ती बिक्री कक्षबाट पनि चौबीसै घण्टा ताजा माछा बिक्री हुने गर्छ ।
फर्मालिनको त्रासले माछा पाल्ने प्रेरणा
नगर प्रमुख शिवाकोटी कृषि व्यवसायमा लागेका पुराना किसान हुन् । बिर्तामोडले नगरको स्वरुप धारण गर्नुभन्दा डेढ दशकअघि अनारमनी गाविस छँदा पनि उनी गाविसको अध्यक्ष थिए ।
राजनीति उनको समाजसेवा भए पनि व्यवसाय भने जहिल्यै पनि माछासँग जोडिँदै आएको छ । बीसौँ वर्षदेखि झापाका केचना लगायतका क्षेत्रमा रहेका ठूला जलाशयहरुमा उनले माछा पाल्दै आएका छन् । भारतको आन्ध्र प्रदेशमा घुम्न जाँदा नेपाल पठाउने माछामा फर्मालिन नामक हानिकारक रसायन हालेको देखेपछि आफूमा विषादीमुक्त अभियान चलाउने सोच आएको उनी बताउँछन् । एकातिर आयात हुने मरेका माछालाई लामो अवधि ताजा देखाउन फर्मालिनको प्रयोग र अर्कातिर नेपालमा क्यान्सर रोगीको संख्या बढेको पाइएपछि ताजा माछाको उत्पादन गरेर भारतीय माछा विस्थापन गर्ने योजना बनाएको उनले बताए ।
उनी भन्छन्, ‘पार्कको जिउँदो माछा हामीले घरघरै र्पुयाउन थालेपछि मानिसहरु यति खुसी भए कि कैयनले मलाई घरमै आएर माला लगाइदिएर ‘हामीलाई फर्मालनको विष खानबाट र क्यान्सर लाग्नबाट बचाइदिनु भयो’ भने ।’ होटल, रेस्टुराँ, विवाह, जन्मदिन र अन्य चाडबाडमा पार्कमा आएर माछा किनेर लैजानेहरु पनि बढेका छन् ।
(रासस)