धरान : सहाराविहिन बालबालिकाहरुलाई आश्रय दिइरहेको धरान ३ स्थित सरस्वती बाल आश्रमले साताव्यापी कार्यmक्रम गरी २७ औं राष्ट्रिय बालदिवस तथा आश्रमको ३० औं बार्षिकोत्सव मनाउने भएको छ ।
आश्रमले बिहिबार पत्रकार सम्मेलन गरी भदौ २९ गतेसम्म आश्रममै साताव्यापी कार्यक्रम गरी बालदिवस मनाउने जानकारी दिएको हो । पहिलोे दिन बिहिबार मिडियाकर्मीहरुसँग भेटघाट कार्यक्रम राखेको आश्रमले शुक्रबार बालबालिकाहरुलाई बचतप्रेरित उत्प्रेरणा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । शनिबार तीर्थराज राई स्मृति नगरस्तरीय बालक्लब बुद्धिचाल प्रतियोगिता, आइतबार व्यक्तित्व क्षमता विकासको लागि बुद्धि खिचाउने कार्यक्रम आयोजना गरिनेछ भने मंगलबार उत्प्रेरणा जगाउन सफल व्यक्तित्वलाई निम्त्याएर सफलताको कथा तथा अन्र्तक्रिया कार्यक्रम राखिएको मुल संयोजक एलिना मगरले जानकारी दिइन् ।
बुधबार शारीरिक तथा मानसिक क्षमता विकासको लागि आन्तरिक खेलकुद आयोजना गरिनेछ भने आगामी शुक्रबार(भदौ २९ गते) आश्रमको ३० औं बार्षिक साधारणसभा, राष्ट्रिय बाल दिवस एवं पुरस्कार वितरण र समापन कार्यक्रम आयोजना गरिन आश्रमले जानकारी दिएको छ । यी कार्यक्रमहरुले आश्रममा आश्रित बालबालिकाहरुलाई समाजसँग घुलमिल गराउन र उनीहरुको प्रतिभालाई निखार्ने अवसर मिल्ने पनि संस्थाकी अध्यक्ष नैनकला न्यौपानेले बताइन् । आश्रममा २५ जना बालबालिकाहरु रहेका छन् । तीमध्ये ११ जना बालिका र १४ जना बालकहरु छन् । त्यहाँ आश्रित बालबालिकाहरु युकेजीदेखि कक्षा १२ सम्म विभिन्न विद्यालयहरुमा अध्ययनरत छन् ।

तस्बिर : कार्यक्रमबारे जानकारी गराउदै आश्रम पदाधिकारीहरु ।

aIMG_20180906_093701