पथरी :वर्षातको समयमा ठुलो क्षति पुर्याउदै आएको डाँस खोलामा स्थायी तटबन्धन नहुदा स्थानीयहरु वर्षेनी मार खेप्दै आएका छन् ।
यो खोलामा स्थानीयबासीले बषौंदेखि दीर्घकालीनरुपमा तटबन्धनको माग गर्दै आएपनि पुरा हुन सकेको छैन । डाँस खोलाले पथरीशनिश्चरेको वडा न ६, ८, ९ र १० का वासिन्दाहरुलाई बर्षेनी पिरोल्ने गरेको छ । मोरङको पथरी शनिश्चरेको वडा नं. ६, ८, ९ र १० र पश्चिमतर्फ कानेपोखरी गाउँपालिकाको सिमाना भएर बग्ने यो खोलाको बाढीले बर्षेनी कटान गरेर स्थानीयवासीहरुलाई भुमिबिहिन बनाउने गर्छ । खोलामा मापदण्ड विना जथाभावी उत्खनन् हुने र अव्यवस्थित बसोबासको कारणले पनि स्थानीयहरु भविष्यमा थप भुमिबिहिन हुनसक्ने खतरा स्थानीयबासीहरु औल्याउछन् ।
निरन्तर खोलाको कटान र अव्यवस्थित बसोबासले भुमिहिन हुने खतरा बढेपछि खोलाको व्यावस्थापनका लागि यहाँका स्थानियवासीहरु पनि संगठित भएका छन् । उनीहरुले फडिन्द्र कार्की संयोजक रहेको एक समिति गठन गरेका छन् । बिहिबार भएको भेलाले वडा न ६, ८, ९ र १० बाट प्रतिनिधित्व हुने गरी ११ सदस्ीय समन्वय समिति गठन भएको हो । समितिको सचिवमा शुक्रबहादुर लिम्वु र कोषाध्यक्षमा पदमबहादुर गुरुङ रहेका छन् ।
खोलाबाट पथरी शनिश्चरेका ४ वटा वडाका करिब ३० प्रतिशतभन्दा बढी स्थानीयवासी प्रत्यक्ष प्रभावित हुने नवगठित व्यावस्थापन समितिका संयोजक कार्कीले जानकारी दिए । खोला कटान नियन्त्रणको दिगो व्यावस्थापन गर्न र खेर गईरहेको जमिनको पनि दिगो व्यावस्थापन गर्नको लागि समिति गठन गरिएको कार्कीको भनाई छ । समितिले नगरपालिकासँग पनि समन्वय गरेर कटानबाट हुने क्षति न्युनिकरण गर्न र दिगो व्यावस्थापनमा सहयोग पुर्याउने उनले बताए ।
आर्थिक वर्ष २०७५/०७६ मा डाँस खोला नियन्त्रणको शिर्षकमा नगरपालिकाले १ करोड रुपैया विनियोजन गरेको छ । खोलाको समस्या दिगो निकास तथा कटान व्यावस्थापनको लागि विनियोजित रकमको ठेक्का प्रकृया नभई स्थानीय पीडित उपभोक्ताहरुबाट योजना सञ्चालनको व्यावस्था गर्नुपर्ने नवगठित समितिको माग छ । यस्तै, विनियोजित बजेटबाट क्षतिको अनुगमन गरी क्षतिग्रस्त वडाहरुमा लागतको आधारमा बेग्ला बेग्लै योजना बनाएर काम गर्नुपर्नेलगायत ७ बँुदे मागसहित स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउन तयारी पनि समितिले गरेको छ ।
नगरले विनियोजन गरेको रकम टेण्डर प्रक्रियाबाट खर्चिदा गुणस्तरीय एवं दिगो काम हुन नसक्ने र बीचमा चुवाहट हुने सम्भावना अत्याधिक भएकोले डाँस खोला पीडितहरुको प्रत्यक्ष सहभागिता र निगरानीमा नगर स्तरीय समन्वय समिति गठन खर्चिनु पर्ने समितिको भनाई छ । आफ्नो मागबारे नगरपालिकाले बेवस्था गरे जनस्तरवाट संघर्षका कार्यक्रमहरु पनि अघि बढाउने समन्वय समितिको भनाई छ । खोला नियन्त्रणका लागि तारजाली तथा बाँसको प्रयोग गरेर कटान नियन्त्रण गर्न खोजिएपनि प्रभावकारी नभएको स्थानीय रोशन कार्की बताउछन् ।