धरान । सरकारी छाप तथा किर्ते दस्तखत गरेको आरोपमा धरानबाट पक्राउ परेका सबै जना जनही ६० हजार धरौटीमा छुटेका छन् ।
सुनसरी जिल्ला अदालतको ३ नम्बर बेञ्चका न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट उनीहरु पुर्पक्षको लागि जनही ६० हजार धरौटी आदेशमा रिहा भएको स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए । उनले भने,‘आदेश वमोजिम सबै जना जनही ६० हजार धरौटीमा छुटेका छन् ।’ उनका अनुसार न्यायाधिश पौडेलको आदेश वमोजिम उनीहरु २४ गते आइतबार धरौटीमा छुटेका हुन् । गत साउन ३१ गते प्रहरीले धरान १२ स्थित मिक कम्प्युटरमा छापा मारेर विभिन्न सरकारी कार्यालयको छाप तथा किर्ते दस्तखतहरु वरामद गरेको थियो भने त्यहाँका सञ्चालक राजकुमार थोप्रासहित लिम्बुसहित धरान १५ का ३५ बर्षीय बिरध्वज लिम्बु, वडा ८ का ३६ बर्षीय सरोज योङहाङ र धरान १ का ४० बर्षीय रामकुमार सेवालाई प्रहरी पक्राउ गरेको थियो । उनीहरुको
मिकको कार्यालयबाट नेपाली नागरिकता प्रमाणपत्रको खाली कार्ड ७ थान, उच्च मावि शिक्षा परिषद, त्रिभुवन विश्वविद्यालय र यातायात व्यवस्था कार्यालयको होलोग्राम(स्टीकर)हरु ५८ थान, विभिन्न नागरिकताको प्रमाणपत्रहरु थान ८, विभिन्न जिल्लाका गाविसको कार्यालयहरुबाट जारी भएको प्रमाणपत्रहरु ४ थान, विभिन्न सरकारी कार्यालय, विद्यालय, व्यक्तिगत, दर्जागत, कार्यालयका पदाधिकारीहरुको छाप २ सय २७ थान, विभिन्न प्रमाणपत्र प्रिन्ट गर्ने कागजजात ३ रिमलगायत सामग्री वरादम गरेको थियो । डिएसपी सुमन तिम्सिनाले प्रहरीले हदैसम्मको कारबाहीको माग दाबी गरेको बताए । धरौटीमा रिहा भएको बिषयमा उनले ३ बर्षभन्दा कम सजाय भएको मुद्दामा धरौतीमा रिहा हुने व्यवस्था भएको पनि बताए ।

वरादम भएको सामाग्रीहरुसहित ४ जना(मास्क लगाएका)लाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय धरानको टोली ।