धरान  : मानसिकरुपमा विचलन भएर विचल्ली अवस्थामा धरानबाट एक युवतीको उद्दार गरिएको छ । उनको अहिले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ ।
ती युवतीलाई मंगलबार धरानको छाताचोकबाट महिला सञ्जाल धरानकी पदाधिकारीहरुले भेटेर उद्दार गरेका थिए । उनीहरुले नै तत्काल प्रहरीलाई पनि खबर गरेर समन्वयमा उपचार गर्न प्रतिष्ठान पुर्याएका थिए । आफ्नो नाम निशा राई बताउने युवतीको उमेर अन्दाजी ३० बर्षको रहेको छ । उनले आफ्नो घर पथरी र सस्वती स्कुल छेउ बताउने गरेको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् । अध्यक्ष राईसँगै पुर्वअध्यक्ष गंगा वराल, वरिष्ठ उपाध्यक्ष चेतना श्रेङ, सदस्य सुनिता केसी राई, मञ्जु शाक्यलगायतले ती युवतीलाई छाताचोकबाट प्रहरीको मद्दतमा उद्दार गरी प्रतिष्ठान पुर्याएका थिए । हाल मानिसक विभागमा उपचाररत युवतीको प्रष्ट बोल्छिन् । तर, उनलाई आफ्नो अवस्थाबारे भने चेत छैन । ‘उपचार त भइरहेको छ, उनको आफन्त कोही भेटिएको छैन । अस्पतालमा कुरुवा नहुदा पनि समस्या भइरहेको छ,’अध्यक्ष राईले भनिन् ।