धरान,भदौ २९ : उद्घाटन सत्रमा नै उपभोक्ताहरुले चर्को विरोध गरेपछि धरान १७ स्थित उदय सामुदायिक वन उपभोक्ता समुहको ५ औं साधारणसभा विथोलिएको छ ।
उपभोक्ताहरुले साधारणसभा हुनु एक घण्टा अघि मात्र माइकिङ गरेर खबर गरेको, प्रतिनिधि छनौट गर्दा पनि आफुखुशी गरेको र उपभोक्ताहरुको सदस्यता नवीकरण गर्ने मौका नदिएकोलगायत आरोप लगाउदै विरोध जनाएपछि उद्घाटन सत्र नसकिदै साधारणसभा विथोलिएको थियो । उद्घाटन सत्रमा सामुुदायिक वन उपभोक्ता महासंघका सुनसरी जिल्ला उपाध्यक्ष टेक तामाङले शुभकामना मन्तव्य राख्दै गर्दा उपभोक्ताहरुले वैकल्पिक माइकमार्फत आफ्नो गुनासोहरु राख्न शुरु गरेका थिए । त्यसपछि साधारणसभा सुचारु हुन नसकी विथोलिएको थियो ।

उपभोक्ताहरुले प्रतिनिधि छनौटमा पनि थाहै नदिएको र वन समुहमा आर्थिक अनियमितता भएकोले छानबिन गरिनुपर्ने माग पनि गरेका थिए । साधारणसभाका प्रमुख अतिथि रहेका डिभिजन वन कार्यालय सुनसरीका प्रमुख(डिएफओ)ले मन्तव्य राख्नै नपाई कार्यक्रम विथोलिएको थियो । उपभोक्ता भविन राईले कार्यसमितिले आर्थिक अनियमितता ढाकछोक गर्नको लागि प्रतिनिधि छनौट गर्दा टोल कमिटि भेला नगरी छानिएको, उपभोक्ताहरुलाई सदस्यता नवीकरणको पर्याप्त सुचना नदिएको भन्दै साधारणसभा स्थगित गर्नुपर्ने माग गरेका थिए । उनीजस्तै थुप्रै उपभोक्ताहरुले साधारणसभा स्थगित गरेर पुनः उपभोक्ताहरुलाई नवीकरणको समय दिइनुपर्ने, त्यसपछि प्रतिनिधि छनौट गरेर मात्र साधारणसभाको नयाँ मिति तोक्नुपर्ने माग गरेका थिए । धरान वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भटराईले पनि उद्घाटन सत्रमा बोल्दै उपभोक्ताहरुको व्यापक गुनासो हुदा हुदै वेवास्ता गरेर साधारणसभा हुनु उचित नभएको धारणा राखेका थिए ।
वन समुहका अध्यक्ष मिन सुनुवारले उपभोक्ताहरुको हुलदंगा र विरोधको कारण साधारणसभा स्थगित भएको बताए । उनले कार्यसमिति चाडै बैठक बसेर आजको दिनको समिक्षा गरेर थप निर्णय गर्ने बताए । ‘साधारणसभा अघि बढ्नै सकेन, र स्थगित गर्यांै । अब कहिले गर्ने भनेर कार्यसमिति बैठक बसेर निर्णय गछौं,’उनले भने,‘राजनीतिक कारणले साधारणसभा विथोलियो, अरु केही होइन । सबै आर्थिक बर्षको अडिट गरेकै छौं । बन्दसत्रमा छलफल गर्दा हुने कुरा उद्घाटन सत्रमा नै नराम्रो भयो ।’
तस्बिर क्याप्सन १ : साधारणसभाको उद्घाटन सत्रमा अतिथिहरु ।
तस्बिर क्याप्सन २ : साधारण सभाको उद्घाटन सत्रमा नै विरोध गर्दै उपभोक्ताहरु ।