धरान : क्षमताभन्दा दोब्बर थुनुवाहरु भएर त्यहाँको अवस्था दयनीय भएपछि नागरिकस्तरबाट प्रदेश नं १ कै नमुना तथा व्यवस्थित हिरासत भवन निर्माणको काम तीब्ररुपमा अघि बढेको छ ।
इलाका प्रहरी कार्यालय धरानको परिसरमा निर्माण कार्य शुरु भएको भवनको जग निर्माण कार्य पुरा भएको निर्माण समितिले जनाएको छ । जगको काम सम्पन्न भएर टाई बिमको काम पनि शुरु भएको अध्यक्ष मिनकुमार सुब्बाले जानकारी दिए । उनका अनुसार भवन एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि भवनको सिलान्यास कार्यक्रममा अनुमानित ४ करोड लागत अनुमान गरिएको भएपनि प्राविधिक ईञ्जिनियरहरुसँग सल्लाह गरेर पुनः डिजाइन र स्टिमेट गराउदा अनुमाति लागत खर्च पनि घटेको संयोजक सुब्बाले बताए । उनले भने,‘हामीले ४ करोड लागत लाग्ने अनुमान शुरुमा गरेका थियौं । सिलान्यास समारोहमा र त्यसपछि पनि धेरै सुझावहरु पायौं । यो प्राविधिक कुरा भएकोले विज्ञ, ईञ्जिनियरहरुसँग राय, सुझाव लिएर रि डिजाइन गरायौं, काममा पनि परिमार्जन गरिएपछि लागत पनि घटेको छ ।’
समितिका अनुसार पुनः डिजाइन र स्टिमेट हुदा भवनको लाग २ करोड ७८ लाख १० हजार ६ सय ९१ रुपैयामा झरेको छ । भवनको लागि नगरबासीहरुबाट स्वेच्छाले सहयोग जुटिरहेको छ भने प्रदेश सरकार, धरान उपमहानगरपालिका र संघीय सरकारबाट पनि बजेट आउने अपेक्षा गरिएको समितिले जनाएको छ । ‘धरानबासी, विदेशमा रहनुभएका धरानेहरु, स्थानीय सरकारबाट सहयोग पाइरहेका छौं । प्रदेश सरकारले पनि सहयोग गर्ने भनेको छ, संघीय सरकारमा पनि पहल भइरहेको छ,’संयोजक सुब्बाले भने । हिरासत भवनको साउन १४ गते प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिलान्यास गरेका थियो ।

२ सय थुनुवा अट्ने क्षमता
हाल इलाका प्रहरी कार्यालय धरान हाताभित्रको हिरासत कक्षको क्षमता मात्र ४० जना थुनुवाहरुको हो । तर, यहाँ एक सयको हाराहारीमा थुनुवाहरु हुन्छन् । उनीहरु एउटै कोठामा कोचिएर बस्नुपर्दा अवस्था दयनीय हुन्छ । सबै प्रकारका अभियोग लागेकाहरु एकै ठाउँमा हुन्छन् भने विभिन्न रोगीहरु पनि अन्य ठाउँ अभावमा त्यही बस्नुपर्ने हुन्छ । जसले गर्दा सरुवा रोग भए सबैलाई संक्रमणको खतरा हुन्छ ।
अब बन्ने हिरासत भवनमा भने अहिलेको भन्दा केही सुविधा र व्यवस्थित हुनेछ । यो भवन ४ हजार वर्गफिटको २ तला हुन्छ भने ८ वटा कोठा हुनेछ । एउटा कोठामा सुरक्षाको लागि प्रहरीले उपयोग गर्नेछ भने अन्य ७ वटा कोठाहरुमा व्यवस्थितरुपमा थुनुवाहरुलाई राखिनेछ । महिलाहरुको अलग्गै कोठा हुन्छ । राजनीतिक आस्थाका बन्दी, सामान्य घटना र गम्भीर प्रकृतिका घटनाहरुको लागि पनि अलगै थुनुवा राख्ने व्यवस्था हुन्छ । ‘थुनुवाहरुको हालत अहिले साह्रै नराम्रो छ, कम्तीमा पनि व्यवस्थित तरिकाले बस्न पाओस् भनेर बनाउन थालिएको हो । यसमा हाम्रो केही स्वार्थ छैन,’संयोजक सुब्बाले भने ।


1 96

विभिन्न अफवाहहरु फैलाइयो
हिरासत भवनको सिलान्यास गरिएपछि चोर, फटाहा, अपराधीहरुलाई ४ करोडको सुविधा सम्पन्न भवन बनाएर अपराधलाई थप प्रसय गरेको भन्दै शुरुमा टिकाटिप्पणीहरु पनि शुरु भएको थियो । केही व्यक्तिहरुले त वास्तविकता नबुझी ए.सि.सुविधासहितको हिरासत भवन बनाउन थालेको भन्दै भ्रमहरु पनि फैलाएका थिए । सामाजिक सञ्जालहरुमा त्यसरी लेख्नेहरुमा पत्रकारहरु पनि थिए । प्रहरीले पत्र लेखेर हिरासत भवनको नाममा पैसा उठाउन थालेको भन्दै हल्ला पनि फैलिएको थियो । ‘यो ४ करोडले हामीलाई शुरुदेखि नै तनाव दियो । हामी विज्ञ, प्राविधिक त होइनौं, तर सुझावहरुलाई सकरात्मकरुपमा लियौं । तर, धेरै मान्छेहरुले यथार्थ बुझ्दै नबुझी ए.सि.वाला हिरासत बनाउन लाग्यो, प्रहरीले पैसा उठायो भन्ने हल्ला गरे, त्यो सत्य होइन,’संयोजक सुब्बाले भने,‘व्यवस्थितरुपमा बस्ने हिरासत भवन हो, एसि त हल्ला मात्र हो । यो भवन निर्माण समितिमा हामी छौं, प्रहरीको लेटरप्याडमा पैसा उठायो भन्ने पनि गलत हो ।’

१९ लाख उठ्यो, ३४ लाख कबोल
समितिले हालसम्म १९ लाख ३७ हजार ३ सय २३ रुपैया रकम उठेर खर्च भएको पनि जानकारी दिएको छ । यस्तै, ३३ लाख ९२ हजार ८ सय १४ रुपैया कबोल भएको पनि जनाएको छ । कबोल गरेको रकम उठ्ने पक्का भएको भन्दै संयोजक सुब्बाले भने,‘कबोल गरेको रकम आउछ, बैंकमा राखेजस्तै हो । हामीले चाहेको बेला पैसा आउछ ।’
शनिबार पत्रकार सम्मेलनमा नै मणी सुब्बाले १ लाख २१ हजार, गोकुल राईले १ लाख ११ हजार, श्याम सोनीले १ लाख ११ हजार, मनोज विष्टले १ लाख ११ हजार र छविलाल काफ्लेले ५५ हजार रुपैया निर्माण समितिलाई हस्तान्तरण गरेका थिए । सहयोगीहरुलाई समितिले खादा लगाएर सम्मान पनि गरेका थिए । समितिका सचिव मुरारी सुवेदीले जनताको सहयोगमा निर्माण शुरु भएकोले जो कोहीले पनि हिसाबकिताब हेर्न सक्ने बताए । ‘हामीले निष्ठापुर्वक आर्थिक पारदर्शिता गरेर नै काम गरेका छौं, भविष्यमा पनि गर्नेछौैं । यो सबै जनताको लगानी हो, तपाईहरु जतिबेला पनि हिसाब हेर्न सक्नुहुन्छ । सबै पारदर्शी हुनेछ,’उनले भने ।

तस्बिर :
१ : हिरासत भवनबारे पत्रकार सम्मेलन गर्दे निर्माण समिति
२ : निर्माणाधिन हिरासत भवन ।