धरान : धनकुटाको मुलघाटस्थि विश्रान्ति मन्दिरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसिएशनको क्षेत्रीय कार्यसमितिले कम्बल वितरण गरेको छ । मुलघाटस्थित तमोर किनारमा रहेको मन्दिरमै पुगेर आइतबार एशोसिएशनको टोलीले आश्रय लिइरहेका वृद्धवृद्धा एवं उनीहरुको सेवामा कार्यरत कर्मचारीहरुलाई एक एक थान कम्बल वितरण गरेको हो ।
विश्रान्ति मन्दिरमा ५० को हाराहारीमा विभिन्न ठाउँका वृद्धवृद्धाहरु आश्रय लिइरहेका छन् भने आधा दर्जनको संख्यामा सहयोगीहरु पनि छन् । यो मन्दिर दाताहरुको सहयोगबाट नै सञ्चालनमा रहेको छ । एशोसिएशनका अध्यक्ष पर्वत राईका अनुसार बार्षिक कार्यक्रमअन्र्तगत यो बर्ष वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो । ‘उहाँहरु हाम्रो सृष्टीकर्ताहरु हुनुहुन्छ, त्यसैले यही वहानामा भेट्न र भलाकुसारी गर्न पाउदा आत्मसन्तुष्टी पनि मिल्छ,’उनले भने,‘जाडो नजिकिदै छ, त्यसैले न्यानो कम्बल उपहार दिएका हौं ।’ आश्रमका वृद्धवृद्धाहरुलाई अध्यक्ष राईसँगै प्रमुख अतिथि रहेका संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख वरीष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सरदकुमार खत्री, अग्रज पत्रकारहरु हर्ष सुब्बा, गोपाल देवान, किसोर कार्की, एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल राई, हिमाल गुरुङ, क्षेत्रीय उपाध्यक्ष देवेन्द्र लिम्बुलगायतले कम्बल वितरण गरेका थिए ।
एशोसिएशनका केन्द्रीय उपाध्यक्ष गोपाल राईले पनि संस्थाले कुनै दातृनिकायबाट नभई आफ्ना सदस्य संस्थाहरुबाट सहयोग उठाएर सामाजिक कार्यहरु गरिरहेको बताए । क्षेत्रीय समितिका उपाध्यक्ष देवेन्द्र लिम्बुका अनुसार भदौं महिनामा मात्र धरानको वडा नं ४ स्थित हर्दिया स्कुल र वडा नं २० को वाल्मिकी स्कुलमा पनि विद्यार्थीहरुलाई झोला, पाठ्यपुस्तकलगायत शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो । सोही कार्यक्रममा एशोसिएशनका सुर्यबहादुर तामाङले आश्रमलाई नगद ५ हजार सहयोगसमेत गरेका थिए ।

पत्रकारहरुलाई पनि सम्मान
एशोसिएशनले आफ्नो बार्षिक कार्यक्रम गर्ने क्रममा सुनसरीका अग्रज पत्रकारहरुसँगै सक्रिय युवा पत्रकारहरुलाई पनि नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अग्रज पत्रकारहरु हर्ष सुब्बा, गोपाल देवान र किसोरकुमार कार्की छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय तिनै जनालाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।
यस्तै, युवा पत्रकारहरु प्रदिप मेन्याङ्बो, सन्तोष काफ्ले, रणध्वज लोहोर, रोहित राई, विकास चाम्लिङ, भरतराज शर्मा (गोपाल), शिशिर राई र सुम्निमा राईलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई सम्मापत्रसहित जनही नगद १० हजार प्रदान गरिएको थियो । ‘नागरिकको सुचना प्राप्त गर्ने अधिकार सुरक्षित गर्न योगदान पुर्याउनुभएका अग्रज र सक्रिय पत्रकारहरुलाई सम्मान गर्न पाउदा हामी पनि ज्यादै खुशी छौ । अध्यक्ष राईको भनाई थियो । पत्रकारहरुलाई अध्यक्ष राईसँगै प्रमुख अतिथि एसएसपी खत्रीले ढाका टोपी, खादा र सम्मान पत्र प्रदान गरेका थिए ।

 

 

1 100 4 3 5 2 2 8 6 1 3 3 8 1