धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ को मुलगेट पश्चिम अवस्थित बीपी सुन्दर बजारसँगैको घोपा ट्याक्सी यातायात प्रा.लि.को पार्किङस्थलमा नयाँ विश्वकर्मा बाबाको मन्दिर स्थापना भएको छ ।
धरान वडा नं १८ को कार्यालय र स्थानीयको सहयोगमा निर्माण भएको मन्दिरको सोमबार बिहान ८ः१२ को साइतमा उद्घाटन गरिएको थियो । असोज १ गते आज विश्वकर्मा पुर्जा पनि हो । यो दिन मेशिनरी सामान तथा औजारहरु एवं यातायातका साधनहरुको पनि पुजा गरिन्छ । नयाँ मन्दिरमा बिहान पुजारी, वडा १८ का अध्यक्ष प्रविण राई, सदस्यहरु जमुना मोक्तान त्रिखत्रीलगायतले पनि पुजाअर्चना गरी उद्घाटन गरेका थिए । त्यसपछि नयाँ मन्दिरमा सवारीसाधानसहित पुजा गर्न जानेहरुको घुइचो भएको थियो ।
धरानमा योसँगै  २ वटा विश्वकर्मा बाबाको मन्दिर सार्वजनिकस्थलमा निर्माण भएको छ । सबैभन्दा चर्चित मन्दिर धरान ८ तीनकुनेभन्दा केही दक्षिण जंगलमा पर्छ । बषौंअघि स्थापना भएको उक्त मन्दिरमा असोज १ गते पुजा गर्नेहरुको अत्यधिक भिड लाग्ने गर्छ । यस्तै, नयाँ सवारीसाधनहरु किनेपछि त्यहाँ पुजा गर्न लैजाने चलन छ । सुन्दर बजारमा नयाँ मन्दिर वडाअध्यक्ष राईको पहलमा निर्माण भएको हो । ट्याक्सी पार्किङस्थलको कुनामा फोहोर गर्ने र दुर्घन्ध फैलिएपछि मन्दिर बनाइदिएको अध्यक्ष राईले बताए । ‘एक लाख बढी नै खर्च भएको छ । वडा समितिको ३० हजार, मेरो व्यक्तिगत २८ हजार, टेक लोहनीले १० हजार, राजु श्रेष्ठले ५ हजार सहयोग गरेका छन्,’वडाअध्यक्ष राईले भने,‘यहाँको ४ वटा मेडिकल, घोपा ट्याक्सी प्रा.लि.ले पनि आर्थिक सहयोग गरेको छ । धरान एम्बुलेन्स चालक संघले रंग पेन्टिङ गरिदियो ।’