धरान : धरान ११ का टिकाराम तामाङ शारीरिकरुपमा अशक्त छन् । उनको कम्मरमुनिको भाग चल्दैन । ह्विल चेयरविना उनलाई कतै हिडडुल गर्न निक्कै गाह्रो हुन्छ । तरपनि उनी मागेर खादैनन् ।
लामो समय उनी धरानको भानुचोकस्थित सार्वजनिक शौचालयअघि मान्छे तौलिने मेशिन राखेर जिविको चलाएका थिए । पछि क्यालेण्डर,पत्रपत्रिका र विभिन्न सामान राखेर बेच्थे । अचेल उनी ह्विलचेरमा पत्रपत्रिका बेच्न हिड्छन् । सपांग व्यक्तिहरु पनि मागेर वा ठगेर खाने व्यक्तिहरुको लागि टिकाराम उदाहरणीय व्यक्ति हुन् । उनको यही कर्मको सम्मान गर्दै बुधबार धरान ११ स्थित आशिष वचत तथा ऋण सहकारी संस्थाले १० कित्ता सेयर प्रदान गरेको छ ।
धरान ८ स्थित गोर्खा डिपार्टमेन्टको हलमा आयोजित संस्थाको ८ औं बार्षिक साधारणसभामा तामाङलाई सेयरधनी प्रमाणपत्र प्रदान गरिएको हो । उनलाई संस्थाका अध्यक्ष सुवास वर्देवा, प्रमुख अतिथि एवं प्रदेश नं १ की सांसद उमिता वराइली, धरान वडा नं १७ का अध्यक्ष मनोज भटराईले सेयरधनी प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका साधारण सदस्य एन.सी.राईका अनुसार तामाङको अद्भुत क्षमताको सम्मान गर्र्दै सेयर दिइएको हो । “उहाँ ह्विलचेयरमा पत्रपत्रिकाहरु बेचेर जिविको चलाइरहनुभएको छ, शारीरिकरुपमा आफु कमजोर छु भन्ने देखाउनुभएन । मागेर खानु भएको छैन,“उनले भने,“उहाको त्यही प्रतिभाको सम्मान गर्दै सेयर दिइएको हो । पछि वढाउदै लैजाने योजना छ, कमाएको पैसा वचत गर्न पनि सक्नुहुन्छ ।“