धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मुख्य गेट अघि एउटा अग्लो भवन निर्माण भइरहेको छ, जुन भवन निर्माण हुदै गर्दा छरछिमेकीलाई दुःख मात्र दिएन, बाटोमा हिड्ने पैदल यात्रुलाई पनि अनेक सास्ती भयो । भनव बन्दै गर्दा त्यहाँबाट खस्ने इटा, मसला, बालवाजस्ता सामग्रीले छिमेकीहरु हैरान थिए । धरान उपमहानगरपालिकाले छिमेकीकै घरसँग टासिएरै बनेको नक्सा पास गरेकोले यस्तो अवस्था सृर्जना भएको थियो । भवन जति अग्लो हुदै गयो, समस्या झन् चर्किदै गयो । अगाडि गिटी, बालुवा, ढुंगा थुर्पदा बाटोमा हिड्ने पैदल यात्रुहरुलाई पनि अवरोध पुग्थ्यो । स्थानीयसँग थुप्रै पटक विवाद र झगडा पनि भयो । तर, भवनका मालिकहरुले छुट पाउदै गएको थियो । यो भवन धरानका ठुला व्यापारीहरु पवन अग्रवाल, चेतन अग्रवाल ४ दाजुभाईको हो । ठुला व्यापारी भएकै कारण उनीहरुलाई कुनै कारबाही नभएको भन्दै स्थानीयबासी रुष्ट बन्दै गएका थिए ।
निर्माण हुदादेखि नै विवाद परिहेको उक्त व्यापारिक भवन ५ तलाको मात्र नक्सा पास भएको थियो । अहिले भने ६ तलाको बनिरहेको छ । अझै एक तला थप्न बाँकी नै छ । यही बिषयमा स्थानीयबासीले वडा नं १८ मा ७ वटा उजुरी दिए । वडा कार्यालयले उपमहानगरपालिकामा जानकारी दियो । अहिले भने उक्त भवन निर्माण कार्य रोकिएको छ । ‘वडा कार्यालयमा निवेदन परेपछि स्थलगत हेर्यौं, बाटोमा निर्माण सामग्री थुपारेको र मापदण्ड मिचेर ७ तला बनाउदै गरेको पायौं,’वडाअध्यक्ष प्रविण राईले भने,‘नगरपालिकालाई जानकारी दिएपछि पवन अग्रवाललाई बोलाएर भवन ५ तला मात्र बनाउन लिखित निर्णय गरिएको छ ।’
अग्रवाललाई भदौ १२ गते छलफलमा बोलाइएको थियो । उक्त छलफलमा २ तलाको नक्सा थप गरी ७ तलाको पेश भएपनि इजाजत विचराधिन रहेको अवस्थामा निर्माण कार्य भइरहेकोले तत्काल रोकेर ५ तलामात्र निर्माण गर्न निर्णय भएको थियो । यस्तै, निर्माण सामग्रीले हिडडुलमा बाधा पुगेकोले निर्माण सामग्री राख्नुपर्ने भए वडा कार्यालयबाट स्वीकृति लिनुपर्ने निर्णय पनि सोही छलफलमा भएको थियो । ‘त्यो भवन ५ तलाको मात्र नक्सा स्वीकृत हो, पछि २ तला थप गर्ने भन्दै नक्सा पेश भएपनि इजाजत मिलेको छैन । भवनको स्ट्रक्चर ठिक छ कि छैन भनेर अध्ययन भइरहेकोछ,’उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले भने,‘अहिल्यै २ तला थप गर्न मिल्दैन ।’ भवनको ‘स्ट्रक्चर’ नै ५ तलाको लागि डिजाइन भएकोले थप गर्न मिल्ने कि नमिल्ने अध्ययन पछि मात्र थाह हुने र मात्र निर्णय गरिने उनले बताए । ‘ठिक देखिएन भने नक्सा पास हुदैन, बढी तला थपेको छ भने त्यो पनि भत्काउनुपर्छ,’उनले भने ।
भवनका मालिक पवन अग्रवाल भने भवनको स्ट्रक्चर १० तलाको नै बनाएको तर शुरुमा ५ तलाको नक्सा पास गरिएको बताउँछन् । पछि २ तला थप गर्न नक्सा पेश भएको उनले बताए । ‘भवन ५ तलासम्म मात्रै बनेको छ,’झुटो दाबी गर्दै उनले भने,‘प्राविधिक कुरा स्थानीयलाई के थाह ?’
तस्बिर क्याप्सन : स्वीकृति विना तला थपिएको व्यापारिक भवन ।