धरान : धरानको बीच बजार भएर धनकुटा जाने कोशी राजमार्गमा जताततै खाल्डा खुल्डी परेर जीर्ण भएको भन्दै आइतबार धरानका विभिन्न वडाका अध्यक्षहरुको टोली सडक डिभिजन कार्यालय विराटनगरमा डेलिगेशनमा गएको थियो । सडकका प्रमुख जितेन्द्र चौधरी र सहायक प्रमुख दिपक झा भने कार्यालयमा थिएनन् ।

कर्मचारीहरुका अनुसार हाकिमद्धय काठमाण्डौं गएको महिनादिन बितिसकेको थियो । सडक मर्मतको लागि दबाब दिन पुगेका अध्यक्षहरु त्यसपछि आक्रोशित हुदै जिल्ला प्रशासन कार्यालय मोरंगमा पुगेका थिए । त्यहाँ पुगेर तालाबन्दी गर्ने चेतावनी दिएपछि सहायक प्रजिअ उमेश पाण्डेले हाजिरी मगाए । झण्डै महिना दिनदेखि गयल भएको देखेर उनले रातो धर्को लगाइदिए । ‘हामीले त ताला लगाउने योजना गरेका थियौं, तर सहायक प्रजिअले म आवश्यक कार्यवाही गर्छु भन्नु भएर रोकियौं । उहाँले हाजिरी मगाएर हेर्दा महिनादेखि गयल देखियो, उहाँले तत्कालै रातो धर्का हालिदिनुभयो,’वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले भने ।
काफ्लेका अनुसार वडा १ का कार्यवाहक अध्यक्ष विवेक प्रसाई, वडा २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ, वडा १२ का अध्यक्ष टंक राई, वडा ७ का कार्यावाहक अध्यक्ष जीवन सुवेदी र वडा ८ का कार्यवाहक अध्यक्ष राम मगर कोशी राजमार्ग मर्मतको माग लिएर गएका थिए । उनीहरुसँग वडा ६ का अध्यक्ष भुवनसिं बस्नेत पनि पानवारी याङसिला सडक मर्मतको माग लिएर गएका थिए । साथमा, जिल्ला ट्राफिक कार्यालयमा प्रमुख होमराज दाहाल, धरान उपमहानगरपालिकाका इञ्जिनियरद्धय अरुणभक्त लवट र किरण भुजेल पनि थिए । ‘हामी वडाले मर्मत गरौं भने यो सडक डिभिजनको हातहत पर्छ, हामीले गरेको खर्च बेरुजु हुन्छ,’अध्यक्ष काफ्लेले भने ।

३ दिनमा स्पष्टीकरण दिन निर्देशन
मोरंग जिल्लाका सहायक प्रजिअ उमेश पाण्डेले महिनौं कार्यालयमा गयल बस्ने डिभिजनका प्रमुख र सहायक दुवैलाई ३ दिनभित्र कारणसहित स्पष्टीकरण पेश गर्न पत्र पठाएका छन् । धरानका अध्यक्षहरुको डेलिगेशनलगत्तै हाजिरी पुस्तिका हेर्दा विदा वा काज केही पनि नमिलाई काठमाण्डौंमा बसेको खुलेपछि पाण्डेले स्पष्टीकरण सोधेका हुन् । विदा बस्नुको प्रमाणसहित स्पष्टीकरण पेश नगरे निजामति सेवा ऐनअनुसार कारबाही गर्ने पाण्डेले बताए । उनले भने,‘चित्त बुझ्दो प्रमाणसहित जवाफ आएन भने कारबाही अघि बढ्छ ।’ उनका अनुसार कारबाहीमा ऐनअनुसार तलब रोक्का, सचेत गराउने वा विभागीय कारबाहीको लागि सिफारिश हुनेछ ।