जनकपुर यो समाचार हामीले नागरिक पुर्वेलीबाट साभार गरेका हौं । सुन्दै आङनै शिरिङ¨ हुने यो समाचार जनकपुरबाट सुरेश यादवले नागारिक पुर्वेलीका लागि लेखेका हुन् । धनुषाधाम नगरपालिकास्थित मुसहर बस्तीका एक युवा आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा आफैं घर फर्केपछि उपाचरका लागि जनकपुर हुँदै काठमाडौं पुर्याइएको छ । धनुषाधाम–२ निवासी ३० वर्षीय शिवकुमार सदा अगाडी पट्टिको भाग काटिएको अवस्थामा आइतबार बिहान ३ बजे आफैले घाँटी समातेर घरमा पुगेका थिए । चार दिनदेखि घरपरिवारको सम्पर्क बाहिर रहेका सदा बिहान अँध्यारोमै घरमा रक्ताम्य भएर आइपुगेपछि परिवारका सदस्याहरुले कपडाले घाँटी काटिएको भागलाई बाँधिदिएर बिहान इलाका प्रहरी कार्यालय धनुषाधाम पुगेको थियो । बीभत्स अवस्थामा सदालाई देखेपछि प्रहरीले तुरुन्तै उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याइदियो । तर, त्यहाँ उपचार सम्भव नहुने बताएपछि थप उपचारका लागि प्रहरीले आफ्नै खर्चमा सदा बाबुछोरालाई हवाइजहाजको टिकट काटिदिएर काठमाण्डौं पठाएको धनुषाधाम इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश दाहालले जानकारी दिए । घाइते सदाले बोल्न नसक्ने भएको कारण घटनाबारे केही बताउन सकेको छैन इन्स्पेक्टर दाहालले नागारिकसँग भने, हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं तर त्यो भन्दा पहिले घाइतेको ज्यान जोगाउन आवश्यक देखिन्छ । प्रहरीको अनुसार गत असारमा श्रीमतीले छाडेर गइसकेपछि शिवकुमारले मानसिक रुपमा एक्लोपन महसुस गर्न थालेका थिए । सोही बेलादेखि घरपरिवारसँग पनि राम्रो सम्बन्ध कायम राख्न नसकेका उनले एक दिन मजदुरी गरी कमाएको ज्यालाले रक्सी खाने, एक्लै भौतारिरहने जस्ता व्यावहार देखाइरहेका थिए । परिवार तथा छिमेकीसँगको सोधपुछले उनको कसैसँग खासै रिसिबी पनि नदेखिएको प्रहरीले जनायो । शिवकुमारले साथीहरुसँग रक्सी खाइरहेको बेला सामान्य विवाखको झोकमा कसैले आक्रमण गरेको हो कि आफैले आत्माहत्याको प्रयास गरेका हुन् त्यति पनि प्रारम्भिक अनुसन्धानले खुल्न सकेको छैन, इन्स्पेक्टर दाहालले थपे, घटना बीभत्स देखिएको छ । तर, घाइते आफैं बोल्न नसक्ने अवस्था रहेको तथा घटनास्थल तथा संलग्न व्यक्तिको पहिचान हुन नसकेकोले तथ्य पत्ता लगाउन केही समस्या भएको हो । उनले घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिसकेको बताए । परिवारको आर्थिक अवस्था दयानीय रहेको शिवकुमारको उपचारका लागि सुरुमा प्रहरीले आफ्नै खर्च व्यावस्थापन गरिदिएपनि थप उपचारका लागि स्थानीय सरकारलाई गुहार्ने बताए । घटनाको अनुसन्धान र मानवीय सेवाको हिसाबले पनि शिवकुमारको उपचार आवश्यक छ उनले भने काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ । त्यहाँको खर्च व्यावस्थापन गर्न पीडित परिवार सक्षम नरहेकोले आवश्यक आर्थिक सहयोगका लागि नगरपालिका प्रमुखसँग आग्रह गछौं ।