धरान : गत भदौ अन्तिम साता नेपाली महिलाहरुले हरितालिका तीजलाई धुमधामसँगले मनाए । धरान, इटहरीलगायत प्रमुख सहरहरुमा विभिन्न संघसंस्था तथा महिला समुहहरुले दिनहुँजसो तीज पार्टी हुन्थ्यो । त्यसमा आयोजक र सहभागी महिलाहरुले हजारौं खर्च गर्थे । त्यसैले तीजको साँस्कृतिक महत्वको पक्ष कमजोर हुदै गएको र विकृतिपुर्ण भड्किलो हुदै गएको चिन्ता पनि व्यक्त हुन थालेको छ ।
यही तीजको अवसरमा धरानको झुनाज फिटनेस क्लबले पनि विगतका बर्षहरुमा तीज बिशेष कार्यक्रम आयोजना गरी मनाउने गथ्र्यो । उक्त कार्यक्रममा थुप्रै खर्च हुन्थ्यो । तर, यसपटक भने यो क्लबले तीज कार्यक्रम आयोजना गरेन । बरु त्यो पैसा जोगाएर धरानको ग्रामिण क्षेत्रको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा वितरण गर्यो । क्लबले आइतबार धरान २०(साविक विष्णुपादुका गाविस) मा पर्ने सालबोटेस्थित वाल्मिकी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री एवं खाजा वितरण गरेको थियो । उक्त विद्यालयमा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
फिटनेस क्लबले करिव २५ हजार रुपैया बराबरको स्कुल ब्याग, स्टेसनरी र खाजा वितरण गरेको प्रोपाइटर झुना राईले जानकारी दिइन् । खाजाको प्याकेटमा बिस्कुट, चाउचाउ, चकलेटहरु दिएको थियो । ‘तीजमा रमाइलो र धेरै खर्च गर्ने कार्यक्रमहरु बढी नै हुनथाल्यो । सबैले दिनहँुजस्तो कार्यक्रम गर्ने र खर्च पनि अत्यधिक नै हुन्थ्यो,’उनले भनिन्,‘हामीले चै यसपटक तीज कार्यक्रमको खर्च जोगाऔं, र सामाजिक कार्यमा लगाऔं भन्ने सल्लाह गरेका थियौं ।’ भड्किलो र खर्चिलो कार्यक्रमहरुलाई निरुत्साहित गर्नको लागि पनि यसखालको कार्यक्रमहरु गर्न आवश्यक हुने उनले बताइन् ।
विद्यार्थीहरुलाई प्रोपाइटर झुना राई, कलिना राई, सन्ध्या श्रेष्ठलगायतले ब्याग, स्टेशनरी र खाजा प्रदान गरेका थिए । वाल्मिकीमा कक्षा ५ सम्म अध्यापन हुने गर्छ । विद्यालयमा ११ जना छात्रा र ८ जना छात्र गरी १९ जना मात्र विद्यार्थीहरु रहेको विद्यालय व्यावस्थापन समिति अध्यक्ष कन्चन राईले जानकारी दिए ।