धरान : सडक डिभिजन कार्यालय विराटनगरले जीर्ण भई सवारी दुर्घटनाको जोखिम बढाएको कोशी राजमार्गको धरान भेडेटार सडकखण्डको खाल्डाखुल्डी आउदो दशैंअघि नै मर्मत गर्ने भएको छ । धरानका वडाअध्यक्षहरुको टोली मर्मतको लागि दबाब दिन विराटनगर जादा कार्यालयका प्रमुख र सहायक प्रमुख महिना दिनदेखि काठमाण्डौं बसेको रहस्य खुलेपछि मोरंग जिल्ला प्रशासन कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको थियो । लगत्तै सडक डिभिजनले सोमबार कोशी राजमार्गको अवस्थाको अध्ययन गर्न ओभरसियर रञ्जित चौधरी पठाएको थियो । स्थलगत अध्ययनको लागि आएका चौधरीसँगै धरान उपमहानगरपालिकाका इञ्जिनियर अरुणभक्त लवट र वडा १३ का अध्यक्ष नेत्र काफ्ले पनि स्थलगत निरीक्षण गर्न भेडेटारसम्मै पुगेका थिए । अध्यक्ष काफ्लेका अनुसार ओभरसियर चौधरीले दशैं अघिनै कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत गरेर सवारी दुर्घटनाको जोखिम हटाउने बताएका थिए । ‘सडक डिभिजनबाट आएका प्राविधिकले नापजाँच गरेर गएका छन्, दशैंअघिसम्म मर्मत भइसक्छ भनेका छन्,’अध्यक्ष काफ्लेले भने,‘भेडेटारदेखि धरान, सेउती पुल हुदै पानवारी चोक्टीसम्मको सडक स्थलगत अवलोकन गरियो ।’ धरानका इञ्जिनियर लवटका अनुसार हिजो(सोमबार)कै दिनबाट सडक डिभिजनले प्रारम्भिक काम शुरु पनि गरिसकेको छ । निशाने खोलामा झरिरहने पहिरोलाई क्लियर गर्ने काम शुरु भएको उनले बताए । सडक डिभिजनले कोशी ब्यारेजदेखि मर्मतको काम गर्दै गरेको र रंगेलीबाट पनि रिपेयरको काम भइरहेकोले धरान क्षेत्रमा पनि चाडै शुरु गर्ने जनाएको छ । ‘अस्तिको दिन अध्यक्षज्युहरुसँग दबाब दिन विराटनगर गयौं, कार्यालयमा प्रमुखहरु नभेटिएपछि सिडिओ सापले कारबाही प्रक्रिया बढाउनुभयो, त्यसैको दबाबले गर्दा छिटो काम हुने भयो,’उनले भने । भेडेटारदेखि धरान इटहरी सडकखण्डमा ठुलठुला खाल्डाखुल्डी बनेर कोशी राजमार्ग धराप थापेजस्तै जोखिमपुर्ण बनेको छ । अझ धरानको मुख्य भानुचोक, भोटेपुल र बरगाछी क्षेत्रमा त धेरै खाल्डाखुल्डी छन् । जसले गर्दा सवारी दुर्घटनाको अत्यधिक जोखिम बढाएको छ ।