धरान : हाल धरानको वडा नं ४ मा पर्ने पत्राङ्बारी वन समुह मोरङ, सुनसरी र झापामा गठन भएको पुरानो सामुदायिक वन समुहमध्ये एक हो । साविक पाँचकन्या गाविसमा रहेको यो वन समुह उदाहरणीय वनमा पनि पथ्र्यो । त्यसबेला धरानमा पनि अन्य वन समुह गठन भएकै थिएन । यसका संरक्षकहरु पनि अन्य वन समुहका लागि उदाहरणीयमा पर्थे ।
अहिले त्यही वन समुह लथालिङ मात्र भएको छैन, त्यहाँका पदाधिकारीहरु आर्थिकरुपमा अपारदर्शी पनि छन् । विगत ३ बर्षदेखि साधारणसभा हुन सकेको छैन । जसले गर्दा सर्वसाधारण उपभोक्ताहरुले वन पैदावरहरु निकासी गर्न पाइराखेका छैनन् । तर, अहिले त्यही वन समुहका केही पदाधिकारीहरुले वन कार्यालयबाट स्वीकृत नलिई धमाधम सखुवाको लाथ्रा काटिरहेको पाइएको छ । बर्षेनी साधारणसभा नगरेर वन पैदावरसमेत निकासी गर्न नपाइरहेको बेला कसरी वन समुहले अवैधरुपका लाथ्रा काट्ने साहस गर्न सक्यो ? स्थानीय उपभोक्ताहरु यसमा वन कार्यालयकै मिलेमतो भएको अनुमान लगाउछन् । वनका कर्मचारीहरुकै आडमा यो सब भएको उनीहहरुको दाबी छ । विष्णुपादुका सब डिभिजन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामा र वनका केही पदाधिकारीहरुबीच लामो समयदेखि मिलेमतोमा काम भइरहेको स्थानीयहरु बताउँछन् ।
लामेचौरीदेखि गैरीटोल जाने बाटो बढाउन भन्दै वन समुहले लाथ्रा फडानी गरेको हो । लाथ्रा काटिरहेका ३ जना कामदारलाई वनका कर्मचारीहरुले पक्राउ गरेपनि उनीहरुलाई रुख काट्न लगाउने पदाधिकारीहरुलाई भने वनले पक्राउ गरेको छैन । रेञ्जर इश्वरी वास्तोलाका अनुसार ४३ वटा लाथ्रा काटेको फेला परेको छ । डिभिजन वन कार्यालयका डिभिजन प्रमुख राजेन्द्र निरौलाले प्रक्रिया पुरा नगरी लाथ्रा काटेको हुनाले अनुसन्धान गरी कारबाही हुने बताए । उनले भने,‘अनुसन्धान गरेर कारबाही हुन्छ । कति हानी नोक्सानी भएको छ, त्यसको विगो कायम गरेर प्रचलित ऐन, कानुन अनुसार कारबाही हुन्छ ।’ वन समुहका पदाधिकारीहरुले कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले बाटो विस्तार गर्न बजेट दिने भन्दै रुख काटे पनि वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङ भने वडा कार्यालयमा त्यस्तो कुनै जानकारी नआएको बताउँछन् । ‘वडालाई केही जानकारी छैन, गाउँको विकासको लागि त हामी पनि समन्वय, सहकार्य गछौं,’उनले भने ।
तस्बिर क्याप्सन : बाटो विस्तार गर्न भन्दै अवैधरुपमा काटेर फालिएको सखुवाको लाथ्रा र टुना ।