धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेको टेम्पोको भाडा दर कायम गरेको छ । केही महिनादेखि टेम्पोको भाडा अत्यधिक र मनोमानीरुपमा बृद्धि गरिएको गुनासो सर्वसाधारण यात्रुहरुले गर्दै आएका थिए । उपमहानगरले मंगलबार सरोकारवाला पक्षहरुसँग छलफल गरी विभिन्न रुटमा चल्ने टेम्पोका भाडा दर कायम गरेको हो । उपमहानगरले दिएको जानकारी अनुसार भानुचोकदेखि धरान १७ फोकल्याण्डसम्मको भाडा दर ३५ रुपैया तोकिएको छ । तर, त्यही रुटमा पर्ने एक स्टेण्डको दुरीमा भए १५ रुपैया मात्र भाडा लाग्छ । दुई स्टेण्ड दुरी चढेको भए २० रुपैया भाडा लाग्छ । यही रुटमा भानुचोकदेखि बीच घोपासम्म २५ रुपैया र रेल्वेसम्म ३० रुपैया भाडा दर तोकिएको छ । यो रुटमा भानुचोक, भाटभटेनी,रमाइलो चोक,बुद्धचोक,रत्नचोक,बीचघोपा, रेल्वे र फोकल्याण्डमा टेम्पो स्टेण्ड रहने सहमति पनि भएको छ । यसैगरी, भानुचोकदेखि धरान ८, तीनकुनेसम्मको रुटमा भोटेपुल, वरगाछी, साम्पाङ चोक र तीनकुनेमा स्टेण्ड तोकिएको छ भने भाडादर एक स्टेण्ड दुरी मात्र चढेको भए १५ रुपैया लाग्नेछ । दुई वटा स्टेण्ड दुरी चढेको भए २० रुपैया र सो भन्दा बढी दुरीको चढेको भए २५ रुपैया मात्र भाडा दर तोकिएको छ । यसैगरि, भानुचोकदेखि धरान १३ कोलेनीसम्मको रुटममा छाताचोक, नेपाल टेलिकम, आन्तरिक राजश्व मोड, बालिका मोड, खानेपानी अफिस मोड, जिरोप्वाइन्ट, इलाका प्रशासन कार्यालय मोड र कोलेनीलाई स्टेण्ड तोकिएको छ । यो रुटमा पनि एक स्टेण्ड दुरी चढेको भाडा १५ रुपैया, २ स्टेण्ड दुरी चढेको भाडा २० रुपैया र सो भन्दा बढी दुरी चढेको भए २५ रुपैया भाडा दर तोकिएको छ । यस्तै, भानुचोकदेखि घोपाक्याम्पसम्मको रुटमा पनि भाटभटेनी, रमाइलो चोक, बुद्धचोक र बीपी प्रतिष्ठानलाई स्टेण्ड तोकिएको छ । यसमा एक स्टेण्डको दुरी चढेको भाडा दर १५ रुपैया, २ स्टेण्ड दुरी चढेको भाडा दर २० रुपैया र सो भन्दा बढी दुरीमा २५ रुपैया भाडा दर तोकिएको छ । यस्तै, भानुचोकदेखि धरान ११ मंगलबारे रुटमा पनि भाटभटेनी, रमाइलो चोक,कल्याण चोक र मंगलबारेलाई स्टेण्ड तोकिएको छ । यो रुटमा पनि एक स्टेण्ड दुरी चढेको भाडा १५ रुपैया लाग्छ भने दुई स्टेण्ड दुरी चढेको भाडा २० रुपैया र सो भन्दा बढी दुरी चढेको भाडा २५ रुपैया लाग्छ । सर्वसाधारण यात्रु र टेम्पो चालक, व्यावसायीहरु दुवै पक्षलाई मर्का नपर्ने गरी सहमति कायम गरिएको कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । छलफलमा जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित विभिन्न टेम्पो व्यावसायी प्रालिहरुको सहभागिता रहेको थियो ।