ताप्लेजुङ : करिब १० बर्ष समय लगाएर ताप्लेजुङको दोभानस्थित तमोर नदीमा पुल बनेको छ । यो पुल बनेसँगै ताप्लेजुङ कोशी राजमार्गमा पनि जोडिएको छ । अहिलेसम्म मेची राजमार्गसँग मात्र यो जिल्लाको सम्पर्क थियो ।
नवनिर्मित पुल सोमबारदेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि मेरिङ्देन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको केन्द्रसम्म सवारीसाधन पुगेपछि स्थानीयबासीहरु हर्षित छन् । अढाइ वर्षभित्र बनाउने भनेर २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङसहित निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग १० करोडको लागतमा पुल निर्माण सम्झौता गरेको थियो । तर,स्थानीयले पुल निर्माण भएको हेर्न एक दशक कुर्नुपर्यो । ठेकेदारहरुले विभिन्न बहाना बनाएर निर्माण कार्यमा ढिलाई गरेका थिए ।
जिल्लाको दुई वटा निर्वाचन क्षेत्र र सबै स्थानीय तहहरु पनि सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छ । तमोर पारीका थुप्रै गाउँहरुमा कच्ची सडक बनेपनि पुल नहुदा ती बाटोहरु उपयोगविहिन भएको थियो । अब भने ती बाटोहरुमा सवारी तथा ढुवानीका साधनहरु पुग्न थालेका छन् । स्थानीयले उत्पादन गरेको कृर्षि जन्य उत्पादनहरु सहर बजारमा पुर्याउन सहज हुनेछ भने आवतजावतमा पनि जनतालाई राहत पुग्नेछ ।