इटहरी  : सुनसरीको इटहरी उपमहानगर ३ स्थित एक मन्दिरमा अण्डा पकाएको विवाद चर्किएर जनप्रतिनिधिसँग हातपातसमेत भएको छ । वडा ३ का अध्यक्ष बालकृष्ण विष्टमाथि विवादको क्रममा हातपात भएको बताइएको छ ।
वडा ३ मा रहेको हंशेश्वर शिव मन्दिरमा अण्डा पकाएको बिषयमा विवाद भएको हो । वडाध्यक्ष विष्टका अनुसार हात मिलाउन आएको जस्तो गरेर कुमार गिरीले हातपात गरेका थिए । मन्दिरमा अण्डा पकाएको भन्दै विवाद गरेको भएपनि मन्दिरमा नभई छेउतिर मात्र पकाएको अध्यक्षको भनाई छ ।
मन्दिरमा अण्डा पकाएको हल्ला चलेपछि स्थानीय ७२ वर्षीया जानुका गिरीले विरोध गरेकी थिइन् । त्यक्रममा अध्यक्षले गाली गरेको उनको भनाई छ । अध्यक्षमाथि हातपात गरेको आरोप लागेका कुमारले चन्दा सहयोगमा निर्माण भएको मन्दिरमा अण्डा पकाउदा विरोध भएपछि वृद्धा आमालाई अपमानजनक शब्द प्रयोग गरेपछि आक्रोशित बनेका थिए । उनले अध्यक्षमाथि जाइलागको तर अन्यले रोकेको प्रत्यक्षदर्शीहरुको भनाई छ । घटनालगत्तै अध्यक्षले सार्वजनिक कार्यक्रममा हातपात भएको भन्दै प्रहरीलाई खबर गरेपछि गिरी पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले घटनाबारे अनुसन्धान गर्ने बताए ।