पथरी : बजार पूर्वपट्टीको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सीमादेखि जयचौक नयाँ मंगलबारे सडकको दक्षिण पट्टिको सुकेका बुढा रूख व्यवस्थापन नहुदा सवारीसाधन र पैदल यात्री जोखिममा छन् । उक्त क्षेत्रमा करिब एक किलोमिटर सडकमा सुकेका बुढा रुखहरु छन् । जसले दैनिक आवतजावत गर्ने सवारी साधन र पैदल यात्रीहरुलाई जोखिममा पारेको छ । सडकको बीच भागसम्म आईपुग्ने गरी सडकमा सुकेका रुखहरू ढल्किएका छन् । ती रुखहरु जुनसुकै बेला पनि सडकमा लड्न सक्ने र ठुलो दुर्घटना निम्तिने स्थानीयहरु बताउँछन् ।
दैनिक यो सडक भएर सयौंको संख्यामा सवारीसाधन र मानिसहरू आवतजावत गर्छन् । तरपनि सम्बन्धित सरोकारवाला निकायहरुले सडक जोखिमबारे कुनै चासो नदिएको स्थानीय व्यावसायी अरूण राई बताउँछन् । अर्का व्यावसायी दीपक राई पनि यो सडक भएर मोटरसाईकलमा यात्रा गर्दा उच्च जोखिम रहेको बताउँछन् । सम्बन्धित निकायले यसबारे चासो दिनुपर्ने उनको भनाई छ ।

यसबिषयमा प्रतिक्रिया लिदा वडा नम्बर २ का वडा अध्यक्ष यामप्रसाद गुरागाईले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सुकेका रूख हटाउन पहल गर्ने बताए । सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख दिपेन्द्र कुमार चौधरीले भने आफुलाई यसबारेमा कुनै जानकारी नआएको बताए । तर जोखिम अवस्था भएका पुराना रूखहरू सडक डिभिजनको सहकार्यमा व्यवस्थापन गर्ने उनको भनाई थियो ।