पथरी : मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाले मंगलबार २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरका १० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा १० वटा वडाका १/१ जना गरी १० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । नगरपालिकाले सम्मानित ज्येष्ठ नागरिकहरुलाई तातोपानीका लागि थर्मस र फलफुल प्रदान गरेको थियो ।
कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ज्येष्ठ नागरिक समितिका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे, नगर अध्यक्ष ज्ञानेन्द्र भट्टराईसहितले ज्येष्ठ नगारिकहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले ज्येष्ठहरुको मार्ग निर्देशनलाई पछ्याउँदै नगरको काम गर्ने धारणा राखे । साथै, ज्येष्ठ नागरिकको हकहितका कार्यक्रम अघि सारिने पनि दुवै जनाले प्रतिवद्धता जनाएका थिए ।