इटहरी : होटल, रेष्टुरेष्ट एवं मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरूको अवस्थामा अझै पनि दयनीय रहेको पाइएको छ ।
होटल, रेष्टुरेष्टमा कार्यरत किसोरीहरुको क्षेत्रका काम गर्ने गैरसरकारी संस्थाहरुले उनीहरुको हकहित र उत्थानको लागि विभिन्न कार्यक्रम गरी बजेट सक्ने गरेपनि अवस्थामा भने परिवर्तन आएको छैन । एनजिओहरुले कोठे कार्यक्रमहरु पनि नियमित गरिरहेका छन्, उपलब्धी भने शुन्य जस्तै छ ।
महिला तथा किशोरीहरूको हकहित संरक्षणबारे लामो समयदेखि महिला मञ्च नेपालले आवाज उठाउदै आएको छ । नियमितरुपमा पत्रकारहरूसँग अन्तरक्रिया गरिरहे पनि किसोरीहरुको अवस्थामा उस्तै छ । अन्तरक्रिया तथा पत्रकार भेटघाटको नाममा बजेट खर्च हुदै पनि आएको छ । बुधबार पनि सुनसरी जिल्लामा रहेका मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरी तथा बालबालिकाहरूको अवस्थाबारे महिलाको निम्ति महिला मञ्च नेपालले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा लामो समयदेखि महिलाको हक अधिकारको विषयमा काम गर्दै आएको मञ्चकी उपाध्यक्ष यसोदा केसीले मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरूको अवस्था दयनीय रहेको बताइन् । उनले सो क्षेत्रमा काम गर्ने किशोरीहरूले भोग्नु परेको समस्या सम्वन्धीत ठाँउसम्म पु¥याउने र समस्याको समाधन गर्ने गरेको पनि बताइन । इटहरीको पुर्वाञ्चल होटलमा भएको पत्रकारहरूसँगको अन्तरक्रियामा उपस्थित मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरूले थुप्रै गुनासो गरेका थिए ।
उपस्थित किशोरीहरूले इटहरी आसपासमा रहेर होटल, रेष्टुरेन्ट, डान्स बारहरुमा काम गर्दा राम्रो नजरले नहेर्ने र होटल सञ्चालकबाट तलब नपाउने, चाँडवाडमा पनि छुट्टी नदिने जस्ता समस्याहरु भोग्दै आएको गुनासो पोखेका थिए । मनोरञ्जन क्षेत्रमै काम गर्ने असिम गुरुङ,र निशान ढुंगानाले होटल सञ्चालकहरूको अभद्र ब्यवहारले आफुहरूलाई सो क्षेत्रमा काम गर्न गाह्रो भएको बताए । कार्यक्रममा उप्का नेपालका सुपरभाइजर राम नेम्वाङ, उपमहानगरपालीकाकी प्रतिनिधि माया राई, उद्योग ब्यवसायी संघका सचिब उमानाथ दाहाल, ईलाका प्रहरी कार्यालय महिला सेलकी यसोदा कार्की, श्रमिक महिला साझा मञ्चका प्रतिनिधी, होटल व्यवसायी संघका प्रतिनिधी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।