धरान : नेपालीहरुको महान चाड दशैं संघारमा आइसक्यो । दशैं, तिहार र छठ पर्वमा देश, विदेशबाट गाउँघर फर्कनेहरुको ताती लाग्छ ।
यो बेला सार्वजनिक यातायातमा यात्रुको असाध्यै चाप हुन्छ । सवारी साधनले थेग्दैन । धरानको भानुचोक कोशी पहाडी जिल्लाको लागि यातायातको ट्रान्जिट पोइन्ट हो । चाडपर्वको बेला यहाँको यातायातको व्यवस्थापन निक्कै चुनौतीपुर्ण बन्छ । यात्रुहरुले सिट पाउन मात्र होइन, गाडी नै नपाएर विजोग हुने गर्छन् । सर्वसाधारण यात्रुहरुको यही समस्यालाई मध्यनजर गर्दै जिल्ला ट्रफिक प्रहरी र यातायात मजदुर संगठनले धरानमा यात्रुहरुको लागि हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।
चाडपर्वको बेला घर फर्कने यात्रुहरुको संख्या अत्यधिक हुने र त्यसबेला महिला, बालबालिका, बृद्धबृद्धाहरुलाई धेरै समस्या हुने भएकोले मद्दत गर्नको लागि ट्राफिक प्रहरी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्तरुपमा धरानमा सहायकता कक्षा सञ्चालन आउनेछ । उक्त सहायता कक्षको लोकतान्त्रिक चौतारीमा आयोजित एक समारोहबीच संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वाला, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र संघीय प्रहरी इकाई धरानका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सदरकुमार खत्रीले उद्घाटन गरेका थिए ।
संगठनका धरान अध्यक्ष कमल भटराईका अनुसार अत्यधिक सवारी चाप हुने समय दशैं र तिहारमा हेल्प डेस्क राखेर २० जना स्वयमसेवक भानुचोकस्थित बसपार्क क्षेत्रमा परिचालन गरिनेछ । उनीहरुले महिला, बालबालिका, वृद्धवृद्धाहरुलाई सहजरुपमा गन्तव्यमा पुग्नको लागि सवारीसाधनमा सहजीकरण गरिदिनेछन् । ‘महिलाहरु बालबच्चा र सामानहरुको पोकोसहित दशैंतिहार मान्न घर फर्केका हुन्छन्, बसपार्कमा अत्यधिक भिडभाड हुन्छ, र कता जाने, कुन गाडी चढ्ने भन्ने अन्यौल हुन्छ । यहीबेला पकेटमारहरुले पनि दाउ खोजेका हुन्छन्,’भटराईले भने,‘यस्तो बेला सघाउन, गाडी चढाइदिन, सिट व्यवस्थापन गरिदिन हेल्प डेस्क राख्छौं, हाम्रो स्वयमसेवकहरुलाई सहज यात्राको लागि सघाउनेछन् ।’

kapuri help -1


धरान पुर्वी पहाडी र तराईका जिल्लाहरुको लागि यातायातको ट्रान्जिट पोइन्टकोरुपमा विकास भइरहेको छ । यहाँबाट कोशी पहाडी जिल्ला, पुर्व पश्चिमका जिल्लाहरुमा जाने गाडीको स्टेण्ड लाग्छ । दशैंमा देश विदेशबाट घर फर्कनेहरुको भिड भानुचौकस्थित बसपार्कमा लाग्छ । त्यसबेला यात्रु क्षमताभन्दा ज्यादै न्युन संख्यामा मात्र सवारीसाधान हुने भएकोले असाध्यै कष्टकर र जोखिमपर्ण यात्रा गर्न यात्रुहरु बाध्य हुन्छन् । महिला सञ्ञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले हेल्प डेस्कले यात्रुलाई राहत मिल्ने धारणा राख्दै दशैंतिहारमा गाडी थप गरेर भएपनि यात्रुहरुलाई सहज यात्राको व्यवस्था गर्न आग्रह गरिन् । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी अविचन्द्र रिजालले चाडपर्वमा हुने भिडभाडलाई हेल्प डेस्कले सहजीकरण गर्ने र यात्रुहरुलाई धेरै राहत मिल्ने बताए ।